राउण्ड अफ ३२ मा क्यानडा र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ मा सहआयोजक क्यानडा र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ। समूह ए को अन्तिम खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै उपविजेताको रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरेपछि क्यानडासँगको भेट पक्का भएको हो।
प्रतियोगिताको खेल तालिकाअनुसार समूह ए र समूह बी का उपविजेताबीच राउण्ड अफ ३२ मा प्रतिस्पर्धा हुने व्यवस्था छ। क्यानडा समूह बी को उपविजेता बन्दै इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो। समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डसँग २–१ ले पराजित भए पनि क्यानडाले अघिल्ला खेलको नतिजाका आधारमा दोस्रो स्थान कायम राख्यो। यसअघि क्यानडाले बोस्निया एण्ड हर्जगोभिनासँग १–१ को बराबरी खेलेको थियो भने कतारमाथि ६–० को प्रभावशाली जित निकालेको थियो।
पहिलो पटक सहआयोजकको भूमिकामा विश्वकप आयोजना गरिरहेको क्यानडाले घरेलु मैदानमा विश्वकप इतिहासकै पहिलो जित निकाल्नुका साथै पहिलो पटक नकआउट चरणमा पुगेर नयाँ कीर्तिमान बनाएको छ।
दक्षिण अफ्रिकाले पनि विश्वकप इतिहासमा पहिलो पटक समूह चरण पार गर्दै नकआउट यात्रा तय गरेको हो। समूह ए मा एक जित, एक बराबरी र एक हारसहित ४ अंक जोड्दै टोली उपविजेता बनेको थियो।
सन् २०१० मा आफ्नै भूमिमा विश्वकप आयोजना गर्दा अन्तिम पटक प्रतियोगितामा सहभागी भएको दक्षिण अफ्रिका १६ वर्षपछि विश्वकपमा फर्किएको हो। पुनरागमनसँगै टोलीले पहिलो पटक नकआउट चरणमा पुग्ने उपलब्धि हासिल गरेको छ।
क्यानडा र दक्षिण अफ्रिकाबीचको खेलको विजेताले अन्तिम १६ मा मोरक्को र समूह एफको विजेता टोलीबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया