Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

नेयमार ९८१ दिनपछि मैदानमा, भिनिसियसको कीर्तिमान


काठमाडौं । ब्राजिलका स्टार फुटबलर नेयमार ९८१ दिनपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएका छन्। सन् २०२३ नोभेम्बरमा ब्राजिलका लागि अन्तिम खेल खेलेका उनी बिहीबार स्कटल्यान्डविरुद्धको खेलमार्फत पुनः मैदानमा उत्रिएका हुन्।

समूह ‘सी’ को अन्तिम खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले पराजित गर्दै समूह विजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। अमेरिकाको हार्ड रक स्टेडियममा भएको खेलमा भिनिसियस जुनियरले दुई तथा म्याथ्युस कुन्हाले एक गोल गरे।

नेयमारले खेलको ७६औँ मिनेटमा कुन्हाको स्थानमा मैदान प्रवेश गरे पनि गोल गर्न सकेनन्। लामो समयको चोटका कारण अन्तर्राष्ट्रिय फुटबलबाट टाढा रहेका उनको पुनरागमनलाई ब्राजिलका समर्थकहरूले उत्साहका साथ स्वागत गरेका छन्।बार्सिलोनाबाट पेरिस सेन्ट-जर्मेन (पीएसजी) पुगेका नेयमार त्यसपछि साउदी अरेबियाको अल–हिलाल हुँदै आफ्नो बाल्यकालको क्लब सान्तोस फर्किएका छन्। निरन्तरको चोटका कारण उनी पछिल्ला दुई वर्ष अन्तर्राष्ट्रिय खेलबाट बाहिर थिए।

ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले नेयमारको अनुभव टोलीका लागि महत्त्वपूर्ण हुने विश्वासका साथ उनलाई पुनः टोलीमा समावेश गरेका हुन्। मोरक्को र हाइटीविरुद्धका खेलमा विश्राम पाएका नेयमारले अन्ततः स्कटल्यान्डविरुद्ध मैदानमा फर्किने अवसर पाए।

यता, युवा स्टार भिनिसियस जुनियरले पनि नयाँ कीर्तिमान बनाएका छन्। उनी लगातार तीन विश्वकप खेलमा गोल गर्ने पछिल्लो पुस्ताका पाँचौँ ब्राजिलियन खेलाडी बनेका छन्। यसअघि सन् १९७० मा जर्जिन्हो, १९९४ मा रोमारियो, २००२ मा रिभाल्डो र रोनाल्डोले यस्तो उपलब्धि हासिल गरेका थिए।

भिनिसियसले यस विश्वकपमा मोरक्को, हाइटी र स्कटल्यान्डविरुद्ध गोल गर्दै तीन खेलमा चार गोल पुर्‍याएका छन्। उनी गोल्डेन बुटका बलिया दाबेदारका रूपमा उभिएका छन्।समूह चरणमा लगातार दोस्रो जित निकालेको ब्राजिलले सात अंकसहित समूह विजेता बन्दै अन्तिम ३२ मा स्थान बनाएको हो। समान अंक भए पनि गोलअन्तरमा ब्राजिलले मोरक्कोलाई पछि पार्‍यो।

स्कटल्यान्ड तीन अंकसहित तेस्रो स्थानमा रहेकाले अन्य समूहको नतिजामा निर्भर हुँदै नकआउट चरणमा पुग्ने सम्भावना कायम छ। लगातार तीन खेलमा हार बेहोरेको हाइटी भने समूह चरणबाटै बाहिरिएको छ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट