विश्वकप फुटबल : कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
काठमाडौं । कोलम्बियाले फिफा विश्वकप २०२६ मा डिआर कंगोलाई १-० ले पराजित गरेको छ । समूह के मा लगातार दुई खेल जित्दै कोलम्बियाले नकआउट चरणमा प्रवेश गरेको हो।
दुई जितपछि ६ अंक जोडेर समूह के को शीर्ष स्थानमा छ । पहिलो हार बेहोरेको डिआर कंगो भने दुई खेलबाट १ अंकसहित तेस्रो स्थानमा छ ।
मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा भएको खेलमा कोलम्बियाले सुरुवातदेखि नै कंगोमाथि दबाब बनाएपनि गोल गर्न भने दोस्रो हाफसम्म कुर्नुपर्यो ।
मुनोजले ७६औं मिनेटमा वुजान क्वाटेरोको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए र अन्तिममा त्यही गोल ३ अंक दिलाउन निर्णायक बन्यो ।
यस्तै पहिलो गोलपछि लुइस डियाजले दुई गोल गरेपनि अपसाइडका कारण गोलले मान्यता पाएन । पहिलो हाफमा कंगोका गोलकिपर लियोनल एमपासीले उत्कृष्ट प्रदर्शन गर्दै ६ सेभ गरेपछि कोलम्बिया गोल गर्न असफल भएको थियो ।
कंगोले ८ सट प्रहार गर्दा १ मात्र अन टार्गेटमा रह्यो । कोलम्बियाले अब समूह विजेता बन्नका लागि अन्तिम खेलमा पोर्चुगलसँग खेल्नेछ । पोर्चुगलले मंगलबार राती उज्वेकिस्तानलाई ५-० ले हराएर पहिलो जित हात पारेको थियो । पवर्चुगललाई नकआउट चरण पुग्न कोलम्बिया विरुद्ध बराबरी नै पर्याप्त हुनेछ ।
अर्कोतर्फ, कङ्गोले अन्तिम ३२ मा पुग्ने आफ्नो झिनो आशा जीवित राख्न समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानविरुद्ध विश्वकप इतिहासकै आफ्नो पहिलो ऐतिहासिक जित निकाल्नुपर्ने छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया