पेपर लिक प्रकरण: वाङ्चुकले तोडे अनसन, संसद्मा नयाँ विधेयक आउने
नयाँ दिल्ली । भारतमा प्रतिस्पर्धात्मक परीक्षाको प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणविरुद्ध २६ दिनदेखि आमरण अनसनमा रहेका जलवायु तथा सामाजिक अभियन्ता सोनम वाङ्चुकले शुक्रबार मध्यराति आफ्नो अनसन अन्त्य गरेका छन्।
गुरुग्रामस्थित मेदान्ता अस्पतालमा उपचाररत वाङ्चुकले केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डा, राज्यमन्त्री डा. जितेन्द्र सिंह तथा लद्दाखको ‘एपिक्स बडी’का प्रतिनिधिहरूको उपस्थितिमा जुस पिएर अनसन तोडेका हुन्।सामाजिक सञ्जाल ‘एक्स’मा प्रतिक्रिया दिँदै वाङ्चुकले देशमा हिंसा भड्किन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तथा सरकारसँग विभिन्न चरणमा भएको संवादपछि अनसन अन्त्य गर्ने निर्णय लिएको बताएका छन्।
उनका अनुसार विभिन्न राजनीतिक दलका ६५ सांसदको लिखित तथा प्रत्यक्ष आग्रहले पनि निर्णयमा महत्वपूर्ण भूमिका खेलेको थियो। उनले आफ्ना समर्थक र आन्दोलनकारीलाई शान्तिपूर्ण रूपमा आन्दोलन जारी राख्न आग्रह गर्दै कुनै पनि प्रकारको हिंसात्मक गतिविधिबाट टाढा रहन अपिल गरेका छन्।वाङ्चुकले अनसन तोडेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। प्रधानमन्त्री मोदीले चिकित्सकको सल्लाहअनुसार स्वास्थ्यमा विशेष ध्यान दिन र चाँडै पूर्ण रूपमा स्वस्थ हुन शुभकामना व्यक्त गरेका छन्।
यता, प्रश्नपत्र चुहावटका घटनाले देशभर व्यापक विरोध र विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्री मोदीले बिहीबार मध्यराति भिडियो सन्देशमार्फत सरकारको धारणा सार्वजनिक गरेका थिए।
उनले प्रश्नपत्र चुहावटलाई लाखौं विद्यार्थी र अभिभावकको भविष्यसँग जोडिएको गम्भीर विषय भन्दै दोषीमाथि कडा कारबाही सुरु भइसकेको जानकारी दिए। हालसम्म संलग्न व्यक्तिहरू पक्राउ परिसकेको र प्रभावित २२ लाख विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गरिएको उनले बताए।
प्रधानमन्त्री मोदीले अब यस्ता घटना दोहोरिन नदिन सरकारले कानुनी व्यवस्था थप कडा बनाउन लागेको जानकारी दिँदै आगामी सोमबारदेखि सुरु हुने संसद्को बर्खे अधिवेशनमा प्रश्नपत्र चुहावट नियन्त्रणसम्बन्धी नयाँ विधेयक दर्ता गरिने बताए।प्रस्तावित विधेयकमा यस्ता मुद्दाको छिटो सुनुवाइका लागि विशेष ‘फास्ट ट्र्याक’ अदालत गठन गर्ने तथा दोषीलाई कडा सजायको व्यवस्था गरिने उल्लेख गरिएको छ। सरकारले नयाँ कानुनले परीक्षा प्रणालीलाई थप पारदर्शी, सुरक्षित र विश्वसनीय बनाउने विश्वास व्यक्त गरेको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया