मोबाइल बन्द, गोप्य दिल्ली भ्रमण र उठेका कूटनीतिक प्रश्न
गत वैशाख अन्तिम साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो लिएर नेपाल आउने तयारीमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीको भ्रमण अन्तिम समयमा स्थगित भएपछि नेपाल–भारत सम्बन्धबारे विभिन्न अड्कलबाजी सुरु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले भेट्न इच्छुक नदेखिएपछि भ्रमण नै रोकिएको चर्चा त्यतिबेला राजनीतिक र कूटनीतिक वृत्तमा व्यापक बनेको थियो।यही पृष्ठभूमिमा प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनको गोप्य भारत भ्रमणबारे फेरि चर्चा चुलिएको छ। जनआस्थाले असार २६ गते नै ‘भारतसँग चिसिएको सम्बन्ध तताउन लागिएकै हो ?’ शीर्षकमा बेन दुईवटै मोबाइल बन्द गरेर नयाँदिल्ली पुगेको समाचार प्रकाशित गरेको थियो।
समाचारअनुसार बेन केही दिन सार्वजनिक सम्पर्कबाट बाहिर रहे। त्यस अवधिमा उनका पुराना र नयाँ दुवै मोबाइल नम्बर बन्द थिए। उनी कुनै सार्वजनिक कार्यक्रममा पनि नदेखिएपछि सिंहदरबारभित्रै उनी नेपालबाहिर रहेको चर्चा चलेको थियो। स्रोतहरूले उनी स्थलमार्ग हुँदै भारत पुगेको अनुमान गरेका थिए।यद्यपि अहिले बेन पक्षले त्यस समयमा आफू हेटौंडा र चितवन क्षेत्रमा रहेको दाबी गर्दै भारत भ्रमणको समाचार अस्वीकार गरिरहेको छ। तर पाँच दिनसम्म मोबाइल पूर्ण रूपमा बन्द रहनुलाई लिएर विभिन्न प्रश्न उठिरहेका छन्। नेपालका शहरी क्षेत्रमा दूरसञ्चार सेवा सहज उपलब्ध हुने अवस्थामा सम्पर्कविहीन रहनुको कारणबारे पनि जिज्ञासा व्यक्त भइरहेको छ।
जनआस्थाले त्यतिबेलै बेन चारदिने भारत भ्रमण पूरा गरेर फर्किएको, तर भ्रमणको उद्देश्य, भेटवार्ता वा छलफलका विषयमा प्रधानमन्त्री कार्यालयले कुनै जानकारी नदिएको उल्लेख गरेको थियो। बेन स्वयं पनि यस विषयमा सार्वजनिक रूपमा मौन छन्।राजनीतिक विश्लेषकहरूले प्रधानमन्त्री शाहको संसदमा भारतसँग सम्बन्धित विवादास्पद अभिव्यक्तिपछि दुई देशबीचको सम्बन्ध थप असहज बनेको पृष्ठभूमिमा बेनलाई अनौपचारिक संवादका लागि ‘ब्याकडोर डिप्लोमेसी’मार्फत नयाँदिल्ली पठाइएको हुन सक्ने अनुमान गरेका छन्। यद्यपि यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन।
यता पछिल्ला दिनमा भारतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नयाँदिल्लीमा स्वागत गरिसकेको तथा सभामुख डीपी अर्याललाई पनि भ्रमणको निम्तो दिएको बताइएको छ। प्रधानन्यायाधीशको समेत भारत भ्रमण भइरहेका बेला दिल्लीले नेपालसँग संवादका विभिन्न कूटनीतिक च्यानल खुला राख्न खोजेको संकेतका रूपमा यी घटनाक्रमलाई हेरिएको छ।यसैबीच, भारतका विदेश सचिवको औपचारिक भ्रमण हुन नदिइएको भनिएको अवस्थामा आफ्नै सल्लाहकारलाई अनौपचारिक रूपमा भारत पठाइएको भन्ने चर्चाले सरकारको कूटनीतिक रणनीतिमाथि प्रश्न उठाएको छ। साथै पछिल्ला दिनमा काठमाडौंस्थित विभिन्न देशका राजदूतहरूसँग प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटघाटको तयारी भइरहेका घटनाक्रमलाई पनि यही सन्दर्भमा जोडेर हेरिएको छ।
यद्यपि प्रधानमन्त्री कार्यालय वा भारतीय पक्षबाट बेनको कथित भारत भ्रमण तथा त्यसको उद्देश्यबारे कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन। त्यसैले यस विषयमा सार्वजनिक भएका अधिकांश दाबी स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया