Techie IT
KTM Post
शुक्रबार, ८ साउन, २०८३

इरानमा अमेरिकाको १३औं रात भीषण आक्रमण: मध्यपूर्व द्वन्द्वले प्रतिब्यारेल १०१ डलर नाघ्यो कच्चा तेल


दुबई। अमेरिका र इरानबीच जारी सैन्य तनाव शुक्रबार थप उचाइमा पुगेको छ। अमेरिकी हवाई आक्रमण निरन्तर जारी रहँदा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानी सम्पत्ति जफत गर्ने चेतावनीलाई उक्साहटपूर्ण कदमको संज्ञा दिएको छ।यसैबीच कुवेतमा मिसाइल तथा ड्रोन आक्रमण, हुथी विद्रोहीको बढ्दो गतिविधि, संयुक्त राष्ट्रसंघको चेतावनी र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भएको तीव्र वृद्धिले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनाएको छ।

लगातार १३ औं रात अमेरिकी हवाई आक्रमण

अमेरिकी सेनाले जलमार्गमा आक्रमण गर्न सक्ने इरानी सैन्य क्षमतामा कमी ल्याउने उद्देश्यले लगातार १३ औँ रात इरानका सैन्य लक्ष्यहरूमाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी पक्षका अनुसार जलमार्गमा आक्रमण गर्न सक्ने इरानी सैन्य क्षमतामा कमी ल्याउने उद्देश्यले ती कारबाही गरिएको हो।इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी क्षेप्यास्त्रले इराक सीमास्थित अहवाज, बन्दर अब्बास, ओमिदियाह र हर्मुज जलघाँटी नजिकैको केशम टापुको सुजा क्षेत्रमा विस्फोट गराएका छन्। तस्निम समाचार संस्थाले हर्मुज जलघाँटीस्थित केशम टापुको सुजा क्षेत्रनजिक पनि अमेरिकी क्षेप्यास्त्र प्रहार भएको जनाएको छ।

यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकाले नियन्त्रणमा राखेका इरानी सम्पत्तिबाट अमेरिकी जहाज तथा मालवाहक क्षेत्रमा भएको क्षतिको भरपाई असुल्ने चेतावनी दिएका थिए, जसलाई तेहरानले भड्काऊ अभिव्यक्तिको संज्ञा दिएको छ। त्यसप्रति प्रतिक्रिया जनाउँदै तेहरानले उक्त अभिव्यक्तिलाई भड्काउने प्रकृतिको उदाहरण भएको जनाएको छ।

कुवेतमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय, अमेरिकी कङ्ग्रेसमा असन्तोष

क्षेत्रीय तनावकै बीच कुवेतले आफ्नो वायुसीमाभित्र आएका शत्रुतापूर्ण मिसाइल र ड्रोनहरूलाई अवरोध गरी निष्क्रिय पारिदिएको जनाएको छ। अर्कातर्फ, अमेरिकी आन्तरिक राजनीतिमा पनि इरान नीति विवादको विषय बनेको छ।अमेरिकी प्रतिनिधिसभाले कङ्ग्रेसको स्पष्ट स्वीकृतिबिना इरानविरुद्ध युद्धसम्बन्धी गतिविधि अघि नबढाउन र सैन्य कारबाही रोक्न आग्रह गर्दै राष्ट्रपति ट्रम्पविरुद्ध एक प्रतीकात्मक प्रस्ताव पारित गरेको छ।

हुथी आक्रमणको युरोपद्वारा भर्त्सना, ट्रम्पको कडा चेतावनी

यमनका हुथी विद्रोहीहरूले लाल सागरमा तेल ट्यांकरहरूमाथि निरन्तर आक्रमण गरेपछि युरोपेली मुलुकहरू र युरोपेली संघ (इयु) की शीर्ष कूटनीतिज्ञ काजा कालासले त्यसको कडा आलोचना गर्दै ती कदमलाई गैरकानुनी र लापरवाहपूर्ण भनेका छन्।यसप्रति कडा रुख अपनाउँदै राष्ट्रपति ट्रम्पले हुथीहरू इरानका प्रतिनिधि समूह भएकाले थप आक्रमण गरे ठूलो सैन्य कारबाहीको सामना गर्नुपर्ने र यसको जिम्मेवारी इरानले पनि लिनुपर्ने चेतावनी दिएका छन्।

अन्तर्राष्ट्रिय बजार र कूटनीतिमा असर

मध्यपूर्वको अवस्था नियन्त्रणबाहिर जान थालेको र विश्व अत्यन्तै खतरनाक मोडमा पुगेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तत्काल तनाव कम गर्न सबै पक्षलाई अपिल गरेका छन्।युद्धको सोझो असर अन्तर्राष्ट्रिय ऊर्जा बजारमा देखिएको छ। लाल सागरको तनावपछि ब्रेन्ट कच्चा तेलको मूल्य ८ प्रतिशतभन्दा बढीले बढेर प्रतिब्यारेल १०१.९३ अमेरिकी डलर पुगेको छ भने डब्लुटीआई पनि ७.६ प्रतिशतले बढेर ९३.४४ डलर पुगेको छ।

बिग्रँदो सुरक्षा स्थितिलाई ध्यानमा राख्दै बेलायतले तेहरानमा रहेका आफ्ना कूटनीतिक कर्मचारीहरूलाई अस्थायी रूपमा फिर्ता बोलाएर टाढाबाटै (रिमोटली) दूतावासको सेवा सञ्चालन गरिरहेको जनाएको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट