आफ्ना सांसदलाई रास्वपाको लिखित निर्देशन: स्वकीय सचिवमा नातावाद र परिवारवाद पूर्ण निषेध
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई स्वकीय सचिव नियुक्त गर्दा परिवारका सदस्य वा नजिकका आफन्तलाई नियुक्त नगर्न स्पष्ट निर्देशन दिएको छ।रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार जारी गरेको आन्तरिक निर्देशनमा स्वकीय सचिव नियुक्ति प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र सुशासनका सिद्धान्तअनुरूप हुनुपर्ने उल्लेख गरिएको छ।
निर्देशनअनुसार स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान र सुशासनसम्बन्धी नीतिलाई आधार मान्दै एकाघरका सदस्य तथा नजिकका नातेदारलाई पूर्ण रूपमा निषेध गरिएको छ। नियुक्ति पारिवारिक सम्बन्धभन्दा बाहिरका योग्य व्यक्तिबाट मात्र गरिनुपर्ने व्यवस्था गरिएको छ।
रास्वपाले स्वकीय सचिवका लागि संसद् सचिवालयले निर्धारण गरेको न्यूनतम शैक्षिक योग्यता, अर्थात् स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने अनिवार्य सर्त पनि राखेको छ।यस्तै सम्बन्धित क्षेत्रको ज्ञान, अनुसन्धान क्षमता, प्रविधिमैत्री सीप तथा पार्टीका मूल्य–मान्यताप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिन निर्देशनमा उल्लेख छ।
समावेशी प्रतिनिधित्वलाई पनि प्राथमिकता दिँदै योग्यता र क्षमता पुगेका उम्मेदवारमध्ये महिला, सीमान्तकृत समुदाय तथा पछाडि पारिएका वर्गका व्यक्तिलाई प्राथमिकता दिन भनिएको छ।निर्देशनमा स्वकीय सचिव नियुक्त हुने व्यक्तिले अन्य कुनै सरकारी वा गैरसरकारी संस्थामा पूर्णकालीन रोजगारी नगरेको हुनुपर्ने तथा दोहोरो आर्थिक सुविधा लिने अवस्था हुन नहुने स्पष्ट पारिएको छ।
रास्वपाले सांसदहरूलाई स्वकीय सचिव छनोट गर्दा सार्वजनिक सूचना वा खुला प्रतिस्पर्धामार्फत योग्य उम्मेदवार छनोट गर्न निर्देशन दिएको छ। छनोट प्रक्रिया पूरा भएपछि नियुक्तिअघि संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था पनि गरिएको छ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा मन्त्रिपरिषद्ले हालै गरेको संशोधनपछि सांसदहरूले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था लागू भएको छ। सोही व्यवस्थाअनुसार रास्वपाले आफ्ना सांसदका लागि नियुक्तिसम्बन्धी मापदण्ड सार्वजनिक गरेको हो।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया