चिकित्सकको माइतीघरमा विरोध प्रदर्शन
काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरुले शनीबार पनि माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले चिकित्सकको श्रमशोषण भएको भन्दै निरन्तर विरोध गर्दै आएका हुन् ।
युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रमशोषणविरुद्धको संघर्ष समिति बनाएर उनीहरूले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक)को डिउटी समय नेपालको श्रम ऐन, २०७४ बमोजिम दैनिक अधिकतम १२ र हप्तामा ७२ घण्टाभन्दा बढी हुन नहुने माग गरेका छन् । हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था गरिनुपर्नेमा धेरै समय काममा खटाइएको उनीहरूले गुनासो गरेका छन् ।
हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐनअनुसार अतिरिक्त समय (ओभरटाइम) भत्ता उपलब्ध गराइनुपर्ने उनीहरूले माग गरेका छन् ।
सरकारले बजेट भाषणमार्फत बढाएको तलब र विगतको सहमतिअनुरूप आवासीय चिकित्सकलाई अधिकृत आठौँ तहसरहको बढेको पारिश्रमिक कार्यान्वयन गरिनुपर्ने, एमबीबीएस र बीडीएस पूरा गरेपछि एमडीरएमएसरएमडीएस अध्ययनका निम्ति राखिएको एक वर्षको अनिवार्य कार्यानुभवको प्रावधान खारेज गरिनुपर्नेलगायत माग उनीहरूको छ ।
इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकले केही समययता हरेक शनिबार विरोध प्रदर्शन गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य/जीवन शैली













प्रतिक्रिया