नेपालको पहिलो आधुनिक सुरुङमार्ग उद्घाटन हुँदै, एक महिनापछि पूर्ण सञ्चालनमा आउने
काठमाडौं। नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यो आयोजना नेपालको सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।करिब १९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सुरुङमार्गको मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ। तर सुरुङभित्रको इभ्याकुएसन (निकास) टनेल र विभिन्न क्रस–प्यासेजहरू समेत जोड्दा कुल सुरुङ संरचनाको लम्बाइ करिब ५.५ किलोमिटर पुग्छ।उनका अनुसार निर्माण सम्पन्न भएपछि सुरुङमार्ग तत्काल सर्वसाधारणका लागि खुला गरिने छैन। उद्घाटनको दिनदेखि प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्र सञ्चालन गर्न अनुमति दिइनेछ।
त्यसपछि सुरुङभित्र रहेका सम्पूर्ण सुरक्षा प्रणालीको प्रभावकारिता परीक्षण गर्न ‘मक ड्रिल’ सञ्चालन गरिनेछ। यस क्रममा आगलागी, दुर्घटना वा अन्य आकस्मिक अवस्थाको अभ्यास गरी उद्धार तथा सुरक्षा संयन्त्रको तयारी परीक्षण गरिने विभागले जनाएको छ।महानिर्देशक जैसीका अनुसार मक ड्रिल सफल भएपछि करिब एक सातासम्म सुरुङमार्ग एकतर्फी (वान–लेन) रूपमा परीक्षण सञ्चालन गरिनेछ। त्यस अवधिमा जेट फ्यान, हावाको प्रवाह, धुवाँ व्यवस्थापन प्रणाली, सञ्चार तथा अन्य प्रविधिको विस्तृत परीक्षण गरिनेछ। सबै प्रणाली सफलतापूर्वक सिङ्क्रोनाइज भएपछि करिब एक महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने तयारी गरिएको छ।
सुरुङमार्ग सञ्चालनका लागि भने केही प्रतिबन्ध पनि लागू गरिने भएको छ। विभागका अनुसार मोटरसाइकल तथा प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन। अन्य सबै प्रकारका सवारीसाधन भने आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न सक्नेछन्।यो आयोजना जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले २०७६ सालदेखि निर्माण सुरु गरेको थियो। सुरुवातमा सडक विभागले ‘बिल अफ क्वान्टिटी (बीओक्यू)’ मोडालिटीमा आयोजना अघि बढाउँदै आफ्नै डिजाइन तथा सुपरीवेक्षणमा जापानी परामर्शदाताको प्राविधिक सहयोग लिएको थियो।
महानिर्देशक जैसीका अनुसार नागढुंगा–सिस्नेखोलाको उकालो सडकमा हुने अत्यधिक ट्राफिक जाम, पहिरोको जोखिम र यात्राको समय घटाउने उद्देश्यले सुरुङमार्ग निर्माण गरिएको हो। निर्माणका क्रममा प्राविधिक जटिलता, स्थानीय तहसँगका केही समन्वय चुनौती तथा अन्य व्यवधान आए पनि सबै समस्या समाधान गर्दै आयोजना सफलतापूर्वक सम्पन्न भएको उनले बताए।
उनले यो सुरुङमार्गले नेपालको आधुनिक सडक पूर्वाधार विकासमा नयाँ अध्याय सुरु गर्नुका साथै सुरक्षित, छिटो र व्यवस्थित यातायात प्रणाली निर्माणतर्फ महत्वपूर्ण आधार तयार गरेको विश्वास व्यक्त गरे।
क्याटेगोरी : समाचार













प्रतिक्रिया