प्रचण्ड, ओली र शेरबहादुर निरीह, म्युजिकल चियरको अन्त्य
काठमाडौं । कुनै बेला नेपालको राजनीतिमा तीन जना पात्रको एकछत्र राज थियो। सत्ता र शक्ति तिनै जनासँग सीमित थियो। आलोपालो सत्ताको सिंहासनमा उनीहरू बस्दै आएका थिए। हामी आज कुरा गर्दै छौँ—पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को। ओली, प्रचण्ड र देउवाको साम्राज्य लामो समय चल्यो।
मुलुकमा गणतन्त्र स्थापना भएपछि यी तीन पात्रकै वरिपरि सत्ता र सरकार घुमिरह्यो। ओली, प्रचण्ड र देउवाले सत्ताको चक्रव्यूह रचेका थिए, जसमा उनीहरू बाहेक अरूले प्रवेश पाउनु निकै मुस्किल थियो। उमेर ७० काटेका यी तीन नेता जनताका मुद्दालाई बेवास्ता गर्दै झण्डै दुई दशक सत्ताको चासनीमा रमाइरहे। तर २०८२ मा आएर उनीहरूको म्युजिकल चियर भत्कियो र देउवा, ओली र प्रचण्ड युगको अन्त्य भयो।
घटना सुरुवात २०८२ भदौ २३ बाट हुन्छ। तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०८२ भदौमा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर आत्मघाती कदम चाल्छ। बहुमतको दममा डुबेको सरकारले जनताको भावना विपरीत सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँछ।
सामाजिक सञ्जाल सञ्चालनमा प्रतिबन्ध लगाएसँगै युवापुस्तामा व्यापक आक्रोश पैदा हुन्छ। भदौ २३ मा ‘जेन–जी आन्दोलन’ को रूपमा उक्त आक्रोश सडकमा विस्फोट हुन्छ। युवाहरूको आन्दोलनलाई सरकारले दमन गरेर आफ्नै खुट्टामा बञ्चरो हान्छ। ओली सरकार ढल्छ र पूर्वन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गैरदलीय नागरिक सरकारको गठन हुन्छ।
२०८२ फागुन २१ मा भएको आम निर्वाचनबाट ओली, प्रचण्ड, देउवाको पार्टी उठ्नै नसक्ने गरी पछारिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ नजिकको बहुमत पाउँछ। रास्वपाका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्छन्। ओली, प्रचण्ड र देउवा राजनीतिक रूपमा किनारा लाग्छन्।
ओली ‘जेन–जी आन्दोलन’ मा दोषी ठहरिँदै पक्राउ पर्छन् भने देउवाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि हालसम्म उनी फरार रहेका छन्। प्रचण्ड चौथो दलको नेता भएर बल्लतल्ल संसद छिर्न सफल हुन्छन्, तर उनमा पनि विगतजस्तो राप–ताप बाँकी रहँदैन। कुनै बेला जनताले नै सत्ताको भर्याङमा पुर्याएका उनीहरूलाई जनताले नै सत्ताको शिखरबाट खसालिदिएका छन्।
क्याटेगोरी : राजनीति










प्रतिक्रिया