कांग्रेसभित्र संवादको नयाँ अध्याय : थापा–खड्का भेटपछि मेलमिलापको संकेत
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि चुलिएको विवाद र ध्रुवीकरणबीच अन्तत : संवादको वातावरण बन्न थालेको छ । लामो समयदेखि आपसी अविश्वास, समानान्तर गतिविधि र संगठनात्मक टकरावमा फसेको कांग्रेसमा बुधबार भएको सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीचको भेटलाई पार्टी एकताको सम्भावित ‘आइसब्रेक’ का रूपमा हेरिएको छ ।
विशेष महाधिवेशनबाट गगन थापाले पार्टीको आधिकारिक नेतृत्व सम्हालेपछि कांग्रेस दुई स्पष्ट धारमा विभाजित भएको थियो। एकातिर थापाको नेतृत्व रहेको संस्थापन पक्ष थियो भने अर्कोतिर पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको समूहले आफूलाई अलग धारका रूपमा उभ्याएको थियो। यही कारण पार्टीभित्र संवादभन्दा बढी आरोप–प्रत्यारोप, कानुनी विवाद र संगठनात्मक दूरी बढ्दै गएको थियो । तर, पछिल्ला केही दिनमा भएका भेटवार्ताले भने परिस्थिति क्रमशः सहज बन्दै गएको संकेत दिएका छन् ।
मंगलबार सभापति थापाले नेता डा. शेखर कोइरालासँग छलफल गरेका थिए भने बुधबार बिहान उनी उपसभापति विश्वप्रकाश शर्मासहित खड्का निवास पुगे। गोल्फुटारस्थित निवासमा करिब एक घन्टा भएको छलफललाई कांग्रेस वृत्तमा अत्यन्त अर्थपूर्ण रूपमा लिइएको छ । किनकि विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको खड्का समूहसँग थापाको यो प्रत्यक्ष संवादले सम्बन्ध सुधारतर्फको पहिलो ठोस कदमको संकेत दिएको ।
विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा–खड्का पक्षले यसअघि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरूले महाधिवेशन प्रक्रियामाथि असन्तुष्टि जनाउँदै कानुनी लडाइँ जारी राख्ने रणनीति अपनाएका थिए। यद्यपि अदालतबाट थापाको नेतृत्वले आधिकारिकता पाएपछि पनि असन्तुष्टि पूर्ण रूपमा समाप्त भएको थिएन । खड्का समूह पुनरावेदनसम्म जाने तयारीमा रहेको चर्चा चलिरहेकै बेला थापाले संवादको पहल गरेका हुन् ।
गत वैशाख १५ र १६ गते खड्का समूहले छुट्टै भेला आयोजना गरेर आफ्नो राजनीतिक धारणा सार्वजनिक गरेको थियो । भेलाले आगामी असोजमा हुने १५औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाइनुपर्ने निष्कर्ष निकालेको थियो। साथै, पार्टीभित्र आफूहरूलाई सम्मानजनक स्थान दिनुपर्ने, निर्णय प्रक्रियामा सहभागी गराइनुपर्ने र संगठनात्मक व्यवस्थापनमा समान व्यवहार हुनुपर्ने माग पनि उठाइएको थियो । खड्का समूहको निष्कर्ष स्पष्ट थियो—पार्टी एकता अब सभापति थापाको व्यवहार र आगामी कदममा निर्भर रहनेछ।
विवादको अर्को पाटो अनुशासनसम्बन्धी थियो । कार्यवाहक सभापतिका रूपमा छुट्टै विज्ञप्ति निकाल्दै समानान्तर गतिविधि चलाएको आरोपमा कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेको थियो। सात दिने समयसीमासहित पठाइएको उक्त स्पष्टीकरणको जवाफ भने उनले दिएका छैनन् । तर, अनुशासन समितिले कारबाही प्रक्रिया तत्काल अघि नबढाई ‘होल्ड’ मा राखेको छ। यसलाई पनि पार्टीभित्र सहमतिको सम्भावना खुला राखिएको संकेतका रूपमा व्याख्या गरिएको छ ।
यसबीच कांग्रेसले वैशाख १ गतेदेखि सदस्यता वितरण तथा नवीकरण अभियान सुरु गरे पनि खड्का–कोइराला समूह त्यसमा सक्रिय सहभागी बनेको थिएन । उनीहरूले आफूहरूले सदस्यता नवीकरण गरिसकेको दाबी गर्दै अलग ढंगले गतिविधि सञ्चालन गरिरहेका थिए । यही कारण संगठनात्मक दूरी झन् बढेको थियो ।
तर, बुधबारको भेटवार्ताले ती सबै विवादलाई कम गर्ने सम्भावनाको ढोका खोलेको देखिन्छ । थापानिकट स्रोतका अनुसार सभापतिले पार्टीलाई सबै पक्ष समेटेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले इतर समूहको भावना, नेतृत्वको सम्मानजनक व्यवस्थापन र आगामी महाधिवेशनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने विषयमा सकारात्मक सन्देश दिएका छन्।
सभापति थापाले १५औँ महाधिवेशनलाई सफल बनाउन सबै समूह एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका थिए। उनले आफू केवल संस्थापन पक्षलाई लिएर अघि बढ्ने पक्षमा नरहेको भन्दै महाधिवेशनका सम्पूर्ण प्रक्रियामा सहभागी हुन खड्कालाई आग्रह गरेका थिए ।
उता, पूर्णबहादुर खड्काले पनि आफ्नो समूहको धारणा पुन : स्पष्ट पारेका छन् । उनले नेतृत्वको सम्मानजनक व्यवस्थापन, शक्ति सन्तुलन र महाधिवेशन प्रक्रियामा समान सहभागिताका विषयमा केही प्रस्ताव राखेको बताइएको छ । यद्यपि ती प्रस्ताव सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार थापाले ती विषयमा थप छलफल गरेर सहमतिको साझा मोडेल तयार गर्न सकिने बताएका छन् ।
कांग्रेसभित्र पछिल्लो समय देखिएको ध्रुवीकरणले पार्टी संगठनमात्र होइन, सरकार र राष्ट्रिय राजनीतिमा समेत असर पारिरहेको थियो । यस्तो अवस्थामा शीर्ष नेताबीचको संवादले कार्यकर्ता पंक्तिमा नयाँ आशा जगाएको छ । यद्यपि भेटवार्ताले तत्काल सबै विवाद अन्त्य गरिहाल्ने अवस्था भने छैन । कानुनी, संगठनात्मक र नेतृत्व व्यवस्थापनका धेरै प्रश्न अझै बाँकी छन् ।
क्याटेगोरी : राजनीति










प्रतिक्रिया