कोइराला, खरेल, कटवालमाथि कांग्रेस सभापति गगन थापाको ‘मिडिया ट्रायल’
काडमाडौं । विशेष महाधिवेशनबाट चुनिएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ को निर्वाचनको परिणामसँगै राजीनामाको व्यापक हल्ला गरे । उनले राजीनामा दिएर केन्द्रीय समितिले अस्वीकृत गर्दासम्म चार चरणमा समाचारहरू बाहिर आए । सुरुमा निर्वाचन परिणामपछि नैतिकताका आधारमा सभापति पदबाट राजीनामा दिने मनस्थितिमा, त्यसपछि राजीनामा दिँदै, केही दिन पछि राजीनामा दिए अनि राजीनामा केन्द्रीय समितिले अस्वीकृत गर्यो भन्ने समाचार सार्वजनिक भए । यी सबै थापाले राजीनामा दिएर केन्द्रीय समितिले अस्वीकार गर्दासम्म कस्ता कस्ता प्रतिक्रिया आउछन् भने गरिएको ‘मिडिया ट्रायल’ थियो ।
सामाजिक सञ्जालमा विभिन्न समूह बनाएर आफूलाई मात्रै ठिक बाँकी सबै बेठिक भन्ने प्रचलन नेपालमा गगन थापाले सुरु गरेका हुन् । सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमलाई प्रयोग गरेर ‘मिडिया ट्रायल’ गर्ने गगनको प्रयोग उनी राजनीतिमा सक्रिय भएदेखि कै हो । उनीबाट सामाजिक सञ्जालमार्फत नकारात्मकता फैलाउन सिकेर अहिले रवि लामिछाने र बालेन शाहहरूले गगनलाई शून्यमा झारिदिएका छन् । गगनले नै सामाजिक सञ्जालमार्फत आफूले मात्रै संसार बदल्न सक्ने भाष्य निर्माण गर्न सुरु गरेका हुन् । तर अहिलेसम्म आइपुग्दा संसारै बदल्छन् भन्ने विश्वास जनताले त्यही सामाजिक सञ्जालका कारण रवि र बालेनहरूमाथि गरे ।
गगनले आफूले सभापतिबाट राजीनामा दिने बेलामा जस्तै ‘मिडिया ट्रायल’ भ्रातृ संस्थाहरूको अध्यक्ष नियुक्ति गर्नुभन्दा अगाडि गरेका छन् । केही दिन अगाडि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट भ्रातृ संस्थाहरू विघटन गरेका थापाले आफू निकटका व्यक्तिलाई अध्यक्ष बनाउन मिडिया ट्रायल गरेका छन् । थापाको मिडिया ट्रायलका विषयमा कांग्रेसभित्रै खैलाबैला भएको छ । नेपाल तरुण दलको अध्यक्षमा मनीष कोइराला (काठमाडौं), नेपाल महिला संघको अध्यक्षमा मीना खरेल (चितवन) र नेपाल विद्यार्थी संघको अध्यक्षमा करुणा कट्वाल (धनकुटा)लाई नियुक्त गरेको भनेर सामाजिक सञ्जालमा थापा निकटका नेता तथा कार्यकर्ताहरूले बधाई र शुभकामना दिएर लेखिरहेका छन् ।
सभापति थापाले आफ्नो रोजाइका व्यक्तिहरूलाई नियुक्त गर्दा समर्थन र विरोध के कति आउँछ ? भनेर मिडिया ट्रायल गरेको एक पदाधिकारीले बताए । ती पदाधिकारीले भने, ‘सभापतिजीले नियुक्ति गर्नुभन्दा अगाडि मिडिया ट्रायल गरेको जस्तो लाग्यो । सम्भवतः तरुण दलको अध्यक्षमा मनीष कोइराला, महिला संघको अध्यक्षमा मीना खरेल र नेविसंघको अध्यक्षमा करुणा कट्वाललाई नै नियुक्ति गर्ने सम्भावना छ ।’
सामाजिक सञ्जाल र समाचारहरूमा धमाधम बधाई आइरहेकै बेलामा थापाको सचिवालयलाई उद्धृत गर्दै भ्रातृ संस्थामा कुनै नियुक्ति नगरिएको समाचार आयो । शुक्रबार नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्वका आकांक्षीहरूले मातृ पार्टी नेपाली कांग्रेससमक्ष ‘राजनीतिक प्रोफाइल’ बुझाउने भएका छन् । पार्टीले गठन गर्न लागेको नेविसंघको केन्द्रीय कार्यसमितिको नेतृत्वका आकांक्षीहरूले आज शुक्रबार कांग्रेस सभापति गगनकुमार थापालाई ‘राजनीतिक प्रोफाइल’ बुझाउन उर्दी जारी भएको छ । नेतृत्वका आकांक्षीमध्येका एक विद्यार्थी नेता विकल राईले दिउँसो १ बजे पार्टी कार्यालय गएर सभापति थापालाई ‘राजनीतिक प्रोफाइल’ बुझाउने कार्यक्रम रहेको जानकारी दिए । कार्यसमितिहरू स्वतः विघटन हुने भ्रातृ संगठनहरूमा नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, महिला संघ, नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ रहेका छन् ।
कार्यसम्पादन समिति बैठकले सभापति थापालाई अधिवेशन नभएका सबै भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी दिएको छ ।
क्याटेगोरी : राजनीति










प्रतिक्रिया