डिजिटल वित्तीय बजारको नयाँ खाका: बैंक, ऋण र बीमा सेवा अब एकै ठाउँमा उपलब्ध हुने
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा ‘फिनटेक मार्केटप्लेस’ स्थापना गर्ने घोषणा गरेका छन्।
मोबाइल एप वा इन्टरनेटमार्फत बैंक, ऋण तथा बीमा सम्बन्धी सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराउने उद्देश्यसहित यस्तो डिजिटल वित्तीय बजारको अवधारणा ल्याइएको उनले बताए।
अर्थमन्त्री वाग्लेले सूचना प्रविधि सेवा क्षेत्र विस्तार गर्न नेपाली नागरिकलाई विदेशमा लगानी खुला गर्ने कानुनी व्यवस्था मिलाइएको पनि उल्लेख गरे। साथै, नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट रोजगारीलाई प्रोत्साहन गर्ने स्पष्ट कानुनी व्यवस्था गरिने उनले बताए।
त्यसैगरी, सरकारी निकायमा प्रयोग हुने सफ्टवेयर खरिद प्रक्रिया व्यवस्थित र एकरूप बनाउन अबदेखि एकै निकायमार्फत खरिद गरिने व्यवस्था मिलाइने घोषणा गरिएको छ।
नागरिक एपमा थप दर्जनौँ सरकारी सेवा आबद्ध गरिने तथा डिजिटल सार्वजनिक विकास पूर्वाधारमा लगानी विस्तार गरिने पनि बजेटमार्फत घोषणा गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया