सुदूरपश्चिमको बजेटमा लफडा, प्रदेशसभा बैठक सर्यो
धनगढी । बजेट प्रस्तुत गर्नका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक राति ९ बजेका लागि सारिएको छ । यसअघि आजै ५ बजे बस्ने गरी बैठक बोलाइएको थियो ।
प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार २०८३ असार १ गते सोमबार अपराह्न ५ बजेका लागि बोलाइएको बैठक स्थगित भई आजै राति ९ बजे बस्ने गरी समय निर्धारण गरिएको बताएको छ ।
प्रदेशसभा सचिवले जारी गरेको सूचनामा विशेष कारणवश बैठकको समय परिवर्तन गरिएको उल्लेख छ । राति ९ बजे बस्ने बैठकमा उपस्थित हुन सम्पूर्ण प्रदेशसभा सदस्यहरूलाई जानकारी गराइएको छ ।
‘यद्यपि, सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बजेटको विषयमा विवाद हुँदा प्रदेशसभा बैठक सारिएको हो । जसका कारण बजेट पास गर्न प्रदेशको मन्त्रिपरिषद् बैठक पनि बसेको छैन ।
क्याबिनेटबाटै बजेट पास हुन ढिलाइ हुँदा प्रदेशसभा बैठक रातिका लागि सारिएको हो । दुई दलबीच बजेटको विषयमा विवाद भएपछि बजेट सम्पादन भइरहेको बुझिएको छ ।
स्रोतका अनुसार, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले आफ्नो मन्त्रालयमा तोकिएको सिलिङअनुसारको बजेट नपरेपछि असहमति जनाएका छन् । उनी एमालेको तर्फबाट मन्त्री भएका हुन् । अरु मन्त्रीले पनि आफूहरूले सिफारिस गरेका योजनामा बजेट नपरेको गुनासो गरेका छन् ।
जसका कारण मुख्यमन्त्री शाह र आर्थिक मामिलामन्त्री विक्रमसिंह धामी माग सम्बोधन हुने गरी अन्तिम तयारीमा लागेका छन् ।
क्याटेगोरी : अर्थ, राजनीति













प्रतिक्रिया