Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ४६ लाखको वैदेशिक व्यापार


काठमाडौं । नेपालका नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आए पनि त्यहाँबाट हुने वैदेशिक व्यापार अझै नगन्य रहेको देखिएको छ। भन्सार विभागको तथ्यांकअनुसार भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैतसम्मको नौ महिनामा जम्मा ४६ लाख ५ हजार रुपैयाँ बराबरको मात्रै आयात भएको छ भने निर्यात शून्य रहेको छ।

त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भने सो अवधिमा कुनै पनि प्रकारको वैदेशिक व्यापार भएको देखिएको छैन। यी दुवै विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा व्यापार प्रभावित भएको बुझिन्छ।

अर्कोतर्फ, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने वैदेशिक व्यापारको मुख्य केन्द्रकै रूपमा रहेको छ। सो विमानस्थलबाट नौ महिनामा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको आयात भएको छ, जुन कुल आयातको १०.५५ प्रतिशत हो। यस अवधिमा नेपालले कुल १४ खर्ब ९० अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ।

निर्याततर्फ त्रिभुवन विमानस्थलबाट २६ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु बाहिरिएको छ, जुन कुल निर्यातको ११.९३ प्रतिशत हो। चैतसम्म देशको कुल निर्यात २ खर्ब २९ अर्ब रुपैयाँ पुगेको विभागले जनाएको छ।

भन्सार बिन्दुमध्ये सबैभन्दा बढी व्यापार भने वीरगञ्ज नाकाबाट हुने गरेको छ। वीरगञ्जबाट कुल आयातको ४६.५७ प्रतिशत र निर्यातको ३५.६९ प्रतिशत हिस्सा ओगटिएको छ। तथ्यांकअनुसार वीरगञ्जबाट ६ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको आयात र ७९ अर्ब ५५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट