प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको विरोध, सांसदहरूले गरे वेल घेराउ
काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गर्दै विरोध जनाएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथिको छलफल चलिरहेका बेला उक्त घटना भएको हो।
बैठकमा सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका थिए। सोही क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ)ले मन्त्रीको जवाफपछि थप स्पष्टीकरण माग्ने प्रयास गरेका थिए।
तर सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावलीअनुसार मन्त्रीले जवाफ दिइसकेपछि पुनः त्यही विषयमा स्पष्टीकरण माग्न नमिल्ने भन्दै उनलाई रोकेका थिए। सभामुखको निर्देशनपछि पनि असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीका सांसदहरू बैठक कक्षको वेलमा पुगेका थिए।
वेल घेराउपछि केहीबेर सदनको वातावरण तनावपूर्ण बनेको थियो। त्यसक्रममा सभामुख अर्यालले सांसदहरूलाई संसदीय मर्यादा र नियमको पालना गर्न आग्रह गर्दै चेतावनी दिएका थिए।
“सभामुखको आदेशको पालना गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्न श्रम संस्कृति पार्टीका सम्पूर्ण माननीय सदस्यहरूलाई सचेत गराउँछु,” सभामुख अर्यालले बैठकमा भने।
संसदमा बजेटमाथिको छलफल जारी रहेका बेला भएको उक्त घटनाले संसदीय प्रक्रिया र नियम पालनाको विषयलाई पुनः चर्चामा ल्याएको छ। यद्यपि सभामुखको निर्देशनपछि बैठकको कारबाही भने निर्धारित कार्यसूचीअनुसार अगाडि बढाइएको थियो।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया