कृषि क्षेत्रमा बैंकहरूको कर्जा ३ खर्ब ३३ अर्ब, पशुपालनमा सबैभन्दा बढी लगानी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूबाट कृषि क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म कृषि क्षेत्रमा उक्त परिमाणको कर्जा लगानी भएको हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कृषि क्षेत्रमा कर्जा प्रवाह २.४९ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा कृषि कर्जा ३.३४ प्रतिशतले वृद्धि भएको थियो।
कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये पशुपालन उपक्षेत्रले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। पुस मसान्तसम्म पशुपालन क्षेत्रमा ६६ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी भएको छ। विपरीत रूपमा सुर्ती खेतीमा सबैभन्दा कम, १६ करोड ८९ लाख रुपैयाँ मात्र कर्जा प्रवाह भएको देखिएको छ।
त्यसैगरी अन्नबाली उत्पादनका लागि ४२ अर्ब ९० करोड रुपैयाँ, तरकारी खेतीमा १९ अर्ब ५६ करोड रुपैयाँ, चिया तथा कफी खेतीमा ३ अर्ब ४६ करोड रुपैयाँ, सनपाट खेतीमा २ अर्ब २४ करोड रुपैयाँ तथा अन्य नगदे बालीमा ८ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।
फलफूल तथा पुष्पखेतीमा ५ अर्ब ५७ करोड रुपैयाँ, शीत भण्डारणमा ६ अर्ब ५९ करोड रुपैयाँ र कृषि सामग्री भण्डारणमा १५ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकले जनाएको छ। मलखाद तथा किटनासक व्यवसायमा ३१ अर्ब ३४ करोड रुपैयाँ, पंक्षीपालनमा १६ अर्ब ५८ करोड रुपैयाँ, माहुरीपालनमा ३९ अर्ब ८ करोड रुपैयाँ तथा अन्य कृषि तथा कृषिजन्य सेवामा ४८ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।
यसैगरी सिंचाइ क्षेत्रमा १ अर्ब ६५ करोड रुपैयाँ, वन क्षेत्रमा ४ अर्ब ७८ करोड रुपैयाँ, बीउ उत्पादन तथा वितरणमा ३ अर्ब ३ करोड रुपैयाँ र माछापालनमा १६ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी भएको छ।
प्रदेशगत रूपमा हेर्दा कृषि कर्जामा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.८८ प्रतिशत रहेको छ। त्यसपछि मधेश प्रदेशको १८.३० प्रतिशत, कोशी प्रदेशको १६.५६ प्रतिशत, लुम्बिनी प्रदेशको १५.१४ प्रतिशत, गण्डकी प्रदेशको ६.९५ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ४.७० प्रतिशत र कर्णाली प्रदेशको १.४७ प्रतिशत हिस्सा रहेको छ।
क्याटेगोरी : अर्थ











प्रतिक्रिया