Techie IT
KTM Post
मंगलबार, १६ असार, २०८३

जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु


स्टेड (जर्मनी) । जर्मनीको उत्तरी सहर स्टेडमा रहेको एक युवा कल्याण केन्द्रमा सोमबार भएको सामूहिक गोलीकाण्डमा पाँच जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये केहीको उपचार भइरहेको छ भने अन्य केही व्यक्तिले सामान्य चोटपटक भोगेका छन्। घटनाको कारण र पृष्ठभूमिबारे अनुसन्धान जारी रहेकाले थप विवरण सार्वजनिक गरिएको छैन।घटनापछि स्टेड क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था कडा पारिएको थियो। ह्याम्बर्गबाट करिब ५० किलोमिटर पश्चिममा पर्ने उक्त सहरमा ठूलो संख्यामा प्रहरी, एम्बुलेन्स तथा उद्धार टोली परिचालन गरिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थलको निगरानीका लागि हेलिकप्टरसमेत प्रयोग गरिएको थियो।

प्रहरीले सुरक्षालाई ध्यानमा राख्दै सर्वसाधारणलाई घटनास्थल नजिक नजान र सम्बन्धित क्षेत्र खाली गर्न अनुरोध गरेको थियो। हाल स्थिति नियन्त्रणमा रहेको र आमनागरिकका लागि थप सुरक्षा जोखिम नरहेको अधिकारीहरूले बताएका छन्।

युरोपमा कडा बन्दुक नियन्त्रण नीति अपनाउने मुलुकमध्ये जर्मनी पनि एक हो। त्यहाँ २५ वर्षभन्दा कम उमेरका व्यक्तिले बन्दुकको अनुमतिपत्र प्राप्त गर्नुअघि अनिवार्य मनोवैज्ञानिक परीक्षण उत्तीर्ण गर्नुपर्ने व्यवस्था छ। यद्यपि, कडा कानुनी व्यवस्थाका बाबजुद पछिल्ला वर्षहरूमा छिटफुट रूपमा सामूहिक गोलीकाण्डका घटनाहरू दोहोरिने गरेका छन्।

यसअघि सन् २०२० मा हानाउमा भएको अतिदक्षिणपन्थी आक्रमणमा नौ जनाको ज्यान गएको थियो भने सन् २०२३ मा ह्याम्बर्गस्थित यहोवाका साक्षीहरूको प्रार्थना केन्द्रमा भएको गोलीकाण्डमा छ जनाको मृत्यु भएको थियो।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट