बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध, सन् २०२७ देखि लागू हुने
काठमाडौं । बेलायत सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ। प्रधानमन्त्री केयर स्टार्मरले आगामी क्रिसमसअघि आवश्यक कानुन पारित गरी सन् २०२७ देखि लागू गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
बीबीसीसँगको कुराकानीमा प्रधानमन्त्री स्टार्मरले बालबालिका सामाजिक सञ्जालका कारण खुसी नभएको, अनलाइन दुर्व्यवहार बढेको तथा धेरै प्लेटफर्म लत लाग्ने खालको डिजाइनमा आधारित रहेको बताए। उनका अनुसार यो निर्णय बालबालिकाको मानसिक स्वास्थ्य, सुरक्षा र समग्र विकासलाई ध्यानमा राखेर गरिएको हो।
सरकारले बालबालिकालाई सामाजिक सञ्जालको दुष्प्रभावबाट जोगाउन यो कदम आवश्यक रहेको बताउँदै उनीहरूलाई बढी समय, सुरक्षा र स्वतन्त्रतासहित हुर्किने वातावरण सुनिश्चित गर्न खोजिएको जनाएको छ।प्रधानमन्त्री स्टार्मरले भने, “सबै अभिभावक यही चाहन्छन्— आफ्ना छोराछोरी सुरक्षित रहून् र भविष्यमा समान तथा न्यायपूर्ण अवसर प्राप्त गरून्।”
सरकारले बालबालिकाको सुरक्षा र हितका विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ।यसअघि अस्ट्रेलियाले पनि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको थियो। सोही अभ्यासबाट सिक्दै बेलायतले पनि नयाँ नीति अघि बढाएको प्रधानमन्त्री स्टार्मरको भनाइ छ।
नयाँ नियम लागू भएपछि स्न्यापच्याट, टिकटक, युट्युब, इन्स्टाग्राम, फेसबुक र एक्स (ट्विटर) जस्ता प्रमुख सामाजिक सञ्जाल प्लेटफर्म १६ वर्षमुनिका प्रयोगकर्ताका लागि बन्द हुनेछन् तर ह्वाट्सएप र सिग्नलजस्ता मेसेजिङ एपहरू भने प्रतिबन्धको दायरामा नपर्ने बीबीसीले जनाएको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया