बागमतीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी साता हुने भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको हो।
मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै जारी गरिएको विज्ञप्तिमा सम्भावित प्राकृतिक विपद्बाट जोगिन पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरिएको छ।
मन्त्रालयका अनुसार भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको उच्च जोखिम रहेको छ। वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने बताइएको छ। नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भिरालो जमिन तथा डुबान हुनसक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।
विपद्को जोखिम देखिएमा तुरुन्त नजिकको सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न मन्त्रालयले आग्रह गरेको छ। अति आवश्यक नपरी लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्था बुझ्नसमेत अनुरोध गरिएको छ।
त्यस्तै, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन र पशुपन्छी, खाद्यान्न, औषधि, महत्त्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका अनुसार प्रदेश सरकारले मातहतका सबै निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएको छ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...
पिकेका आंशिक शिक्षकले सात महिनादेखि पाएनन् तलब
काठमाडौंको बागबजारस्थित पद्मकन्या कलेजका आंशिक शिक्षकहरूले सात महिनादेखि पारिश्रमिक पाएका छैनन्। सात महिनादेखि पारिश्रमिक नपाउँदा परिवार चलाउनै...
मानव तस्करमाथि अनुसन्धान कमजोर
भिजिट भिसा दुरुपयोग गरी कामका लागि विदेश जाने प्रवृत्ति रोक्न सरकारैपिच्छे मापदण्ड बने पनि बेथिति रोकिएको छैन। सरकारैपिच्छेका मापदण्डले न नागरिकले...
फ्लाई दुबईले बुधबारदेखि पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान भर्ने
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी फ्लाई दुबईले बुधबारदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।पोखरा विमानस्थल...




