KTM Post Logo
KTM Post Logo

पिकेका आंशिक शिक्षकले सात महिनादेखि पाएनन् तलब

📰
KTM Post

काठमाडौंको बागबजारस्थित पद्मकन्या कलेजका आंशिक शिक्षकहरूले सात महिनादेखि पारिश्रमिक पाएका छैनन्।

सात महिनादेखि पारिश्रमिक नपाउँदा परिवार चलाउनै मुस्किल परेको भन्दै आंशिक शिक्षकहरू आन्दोलनमा उत्रने तयारीमा छन्। पीडित शिक्षकका अनुसार क्याम्पस प्रशासनको कमजोरीका कारण आंशिक शिक्षकहरू मारमा परेका हुन्।

‘हामीले काम गरेबापत हाजिर गरेबापत आफ्नो मजदुरी विगत सात महिनादेखि पाएका छैनौं’, पीडित आंशिक शिक्षकले भने, ‘तत्काल कलेजले रकम उपलब्ध नगराए क्याम्पस बन्द गर्नेसम्मको आन्दोलनको तयारी भइरहेको छ।’ ती पीडित आंशिक शिक्षकले भने, ‘भोको पेटले कसरी काम गर्ने? ‘कलेजले पारिश्रमिक नदिएर हामीमाथि ठुलो अन्याय गरेको छ।’

त्रिभुवन विश्वविद्यालयको आंगिक कलेज पद्मकन्यामा डेढ सयको हाराहारीमा आंशिक शिक्षक कार्यरत छन्। ‘हामीले सात महिनादेखि तलब पाएका छैनौं। बारम्बार कलेज प्रमुखलाई निवेदन दिए पनि सुनुवाइ भएन। प्राध्यापक संघलाई निवेदन दिएका छौं।’ पीडित आंशिक शिक्षकहरूको भनाइ छ, ‘हामीले पढाएवापतको पारिश्रमिक माग गरेका हौं। कक्षा लिएबापत पिरियडअनुसार रकम पाउनुपर्ने हाम्रो माग हो।’

पद्मकन्या प्राध्यापक संघका सभापति जगदीश वलीले वास्तवमा आंशिकले समयमै पारिश्रमिक नपाउनु उनीहरूमाथि आर्थिक अन्याय भएको प्रतिक्रिया दिए। उनले आंशिक शिक्षकहरूको पीडामा प्राध्यापक संघको पूर्ण साथ रहेको बताउँदै बेरुजु ननिस्कने गरी तलब व्यवस्थापनमा संघ जुटेको समेत दाबी गरे।

‘त्रिविले आंशिकका लागि एक घण्टा बराबर एक पिरियड तय गरेको छ। एक घण्टाको कक्षा बिहानदेखि लिँदा दिउँसो १२ बज्ने भयो’, सभापति वलीले भने, ‘यसले दिउँसोको कक्षालाई प्रभावित पार्ने भएकाले ५० मिनेटको एक पिरियड गरिएको छ, तर त्रिविले १० मिनेटको बेरुजु निकालेको छ।’ उनले थपे, ‘यसकारण संघले क्याम्पस र त्रिविसँग समन्वय गरी विनाबेरुजु तलब व्यवस्था गराउने प्रयास गर्दा ढिलाइ हुन गएको हो।’

त्रिविका एक जना आंशिक शिक्षकले बढीमा तीन पिरियड लिन पाउने व्यवस्था छ। गत वर्ष तीन पिरियड हुनेको ९२ हजार रुपैयाँसम्म बेरुजु निकाल्यो। कलेजले १९ लाख बेरुजी असुली गरिसकेको छ। तीन सय दरबन्दी रहेकोमा हाल १५५ मात्र पूर्णकालीन शिक्षक कार्यरत यस कलेजमा आंशिककै बलमा विषय चलेका छन्।

बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा ८ हजार ५ सय विद्यार्थी अध्ययनरत छन्। मानवकी र व्यवस्थापनका विषयमा मुख्य आकर्षण रहेको यस कलेजमा हाल कक्षाकोठासमेत अभाव छ। अर्कातिर आक्रोशित आंशिक शिक्षकहरूले आगामी साताभित्र पारिश्रमिक नपाए सडक आन्दोलनमा उत्रने र कलेज बन्द गर्नेसम्मको चेतावनी दिएका छन्।

उपप्रा.डा. रमेश थापाले कलेजले आंशिकका समस्या समाधान गर्न पहल गरिरहेको दाबी गरे। दुई दिनअघि मात्र सहायक क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाले पनि उनी आफू यही कलेजको शिक्षक पनि रहेकाले आंशिक शिक्षकका समस्यासँग जानकार रहेको जनाउँदै छिटै समस्या समाधान गरिने जनाए।

‘मैले सहायक प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै पहिलो कामै आंशिक शिक्षकका समस्या समाधानबारे बुझेको छु’, सहायक प्रमुख थापाले नागरिकसँग भने, ‘सबै एचओडीसँग छलफल गरी दसैंअगावै सबै पारिश्रमिक चुक्ता गर्ने गरी प्रक्रिया बढाउन लागेको छु।’ उनले थपे, ‘आगामी दिनमा आंशिकको तलबमा ढिलाइ हुँदैन।’

सम्बन्धित समाचार

बागमतीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह 1

बागमतीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी साता हुने भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रदेशको आन्तरिक मामिला,...

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो 1

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...

मानव तस्करमाथि अनुसन्धान कमजोर 1

मानव तस्करमाथि अनुसन्धान कमजोर

भिजिट भिसा दुरुपयोग गरी कामका लागि विदेश जाने प्रवृत्ति रोक्न सरकारैपिच्छे मापदण्ड बने पनि बेथिति रोकिएको छैन। सरकारैपिच्छेका मापदण्डले न नागरिकले...

फ्लाई दुबईले बुधबारदेखि पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान भर्ने 1

फ्लाई दुबईले बुधबारदेखि पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान भर्ने

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी फ्लाई दुबईले बुधबारदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।पोखरा विमानस्थल...