KTM Post Logo
KTM Post Logo

इतिहास फर्किँदैन, राजनीति रोकिँदैन

📰
KTM Post

महेश्वर दाहाल

इतिहास सत्ताधारीको इच्छाले लेखिँदैन । जनताको संघर्षले लेखिन्छ । राणा शासन ढल्यो । पञ्चायती व्यवस्था ढल्यो । राजतन्त्र पनि ढल्यो । किनकि जनताको असन्तुष्टिमाथि कुनै सत्ता सधैँ टिक्न सक्दैन । जनताबाट टाढिएको सत्ता अन्ततः जनताकै प्रतिरोधमा ढल्छ । जेनजी आन्दोलन पनि यही असन्तुष्टिको अभिव्यक्ति हो । एक वर्ष बितिसक्दा पनि यसलाई स्वीकार्न पुराना शासकहरू, पुराना साेंच भएकाहरू तयार छैनन् । तर, इतिहासलाई रोक्न सकिँदैन । जनताको आवाजलाई बेवास्ता गर्ने सत्ता अन्ततः जनताकै कठघरामा उभिनुपर्छ । इतिहासको फैसला निर्मम हुन्छ । 

पञ्चायतकालीन पूर्वप्रधानमन्त्री तथा स्पष्ट वक्ता सूर्यबहादुर थापाले २०५६/०५७ सालमा मसँगको एक भेटमा भनेका थिए, ‘अब सक्रिय राजतन्त्र फर्कंदैन, निर्दलीय पञ्चायती व्यवस्था पनि फर्कंदैन ।’ उनका अनुसार, पराजित र कुण्ठित नेताहरू तथा पुरानो सत्ताको संरक्षणमा सामाजिक वर्चस्व बनाएका व्यक्तिहरू प्रायः नयाँ शक्ति र नयाँ चेतनालाई आत्मसात् गर्न सक्दैनन् । त्यसैले उनीहरू पटकपटक पुरानो सत्ता फर्किने भविष्यवाणी गर्दै आफ्नो अस्तित्व जोगाइरहन्छन् ।

सूर्यबहादुर थापाले आफ्नाे अनुभव सुनाउँदै भनेका थिए, राणा शासनको अन्त्यकाे वर्षाैपछिसम्म पनि राणा शासक र उनीहरूका समर्थकहरूले  ‘यो जात्रा सकिएपछि’, ‘यो चाडपछि’ राणा शासन फर्किने हल्ला चलाइरहन्थे । तर, २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत हासिल गरेपछि त्यो राजनीतिक भ्रम लगभग समाप्त भयो । त्यसपछि भलै २०१७ सालमा सक्रिय राजतन्त्र आयो तर राणा शासन पुनर्स्थापित भएन ।

त्यतिबेला परम्परागत शक्तिका रूपमा रहेको नेपाल राष्ट्रवादी गोर्खा परिषद्को संगठन र जनाधार नेपाली काँग्रेसकाे भन्दा बलियो भएको भए, काँग्रेसकाे भन्दा बढी सिट ल्याएकाे भए राजनीतिक परिदृश्य फरक हुन सक्थ्यो । तर, संसद्मा कम्युनिस्टहरूको चार सिट मात्र हुँदा पनि उनीहरू वैचारिक रूपमा संगठित र भविष्यतर्फ उन्मुख शक्ति बने । त्यसले आजसम्म बर्चस्व स्थापित गर्न सक्याे । तर, पतनशील राणा शासकको संरक्षण र समर्थन पाएको गाेर्खा परिषद्, संख्यात्मक रूपमा तत्कालीन कम्युनिस्टभन्दा पाँच गुणा ठूलो, १९ सिट भए पनि क्रमशः इतिहासको किनारातर्फ धकेलियो । यसबाट पनि के प्रमाणित भयाे भने जनताबाट टाढिँदै गएको, अग्रगामी एजेण्डा नभएकाे, आचरण गलत भएकाे तत्काल ठूलाे शक्ति नै भए पनि क्रमश: राजनीतिक आधार कमजोर बन्दै अन्तत: गर्लामगुर्लुम ढल्छ । ढल्याे ।

 सूर्यबहादुर थापाको अर्को चेतावनी पनि त्यत्तिकै अर्थपूर्ण थियो, सक्रिय राजतन्त्र फर्काउने प्रयास भए त्यसले राजनीतिक पुनरावृत्तिभन्दा बढी प्रहसन वा दुर्घटना निम्त्याउन सक्छ । २०५७ सालअघि नै व्यक्त  उनको त्यो राजनीतिक पूर्वानुमान अन्ततः इतिहासले सही साबित गर्‍यो । 

समाजमा जन्मिइसकेको नयाँ राजनीतिक चेतनालाई पुरानो शक्ति संरचनाले तत्काल स्वीकार्न सक्दैन । जनआन्दोलन, जनयुद्धपछि स्थापित राजनीतिक व्यवस्थालाई तत्काल स्वीकार गर्न नसक्नेहरू मात्रै हाेइन, त्यसबाट शक्तिमा आएर सत्ताकाे चास्नीमा रमाएकाहरूले समेत पनि अहिले नयाँ पुस्ताबाट उदाएका शक्तिहरूबारे ‘असफल हुन्छन्’, ‘सिद्धिन्छन्’, ‘जान्छन्’ भन्दै भविष्यवाणी गरिरहेका छन् । बालेन शाहको राजनीतिक यात्रामाथिको टिप्पणी पनि यही मनोविज्ञानको पछिल्लो अभिव्यक्ति हो ।

पुरानो सत्ता कमजोर हुँदैमा त्यसका आकांक्षा समाप्त हुँदैनन् भन्ने इतिहासको यो पनि महत्वपूर्ण शिक्षा हो । तर, नयाँ सामाजिक चेतना जन्मिसकेपछि पुरानो राजनीतिक संरचना जस्ताको तस्तै पुनर्स्थापित हुन असम्भवजस्तै हुन्छ । सत्ता फर्काउने कल्पना गर्न सकिन्छ, इतिहासलाई भने उल्ट्याउन सकिँदैन । इतिहासलाई जबर्जस्ती उल्ट्याउन खोज्दा दुर्घटना निम्तिन्छ । याे त हामीले इतिहासमा पढे, भाेगेकै कुरा हाे । 

२०१७ सालमा राजाले गरेको ‘कु’ले लोकतन्त्रको घाँटी निमोठ्यो । सत्ता कब्जा भयो । संसद् भंग गरियो । प्रधानमन्त्रीसहित तत्कालीन नेताहरू जेल परे । तर, त्यो कदम बलियो शासनको आधार बन्न सकेन । जनताको चेतना र प्रतिरोधका अगाडि राजाको निरंकुशता मात्र ढलेन, अन्ततः राजतन्त्र नै ढल्यो ।

व्यक्तिको आयुमा समाजको आयु नापिँदैन । एउटा शासकको शक्ति क्षणिक रूपमा बलियो देखिन सक्छ तर समाजमा जन्मिसकेको नयाँ चेतनालाई सधैँ दबाएर राख्न सकिँदैन । राजाहरूका पटकपटकका राजनीतिक हर्कतले अन्ततः उनीहरूलाई नै राजनीतिक दुर्घटनातर्फ धकेल्यो । नेपाल र नेपाली जनतालाई पनि पछाडि धकेल्याे ।

तत्काल सरकारबाट हठात् हटाइएका र जेल पठाइएका बीपी कोइरालासहित तत्कालीन नेताहरूको लोकतान्त्रिक चरित्र र राजनीतिक निष्ठाकै कारण कांग्रेस बाँच्यो । बीपी आज पनि राजनीतिक स्मृतिमा बाँचिरहेका छन् । तर, २०४६ सालपछि कांग्रेस नेतृत्व क्रमशः कर्पोरेट क्याप्चरमा फस्दै गएपछि जनताले नयाँ विकल्प खोज्न थाले । एमाले र माओवादीलाई जनताले त्यही विकल्पका रूपमा हेरे ।

तर, समयक्रममा यी दलहरूले पनि कांग्रेसका शीर्ष नेताहरूले जस्तै जनविश्वास गुमाए । राजनीतिक तथा सामाजिक आन्दोलन सुस्त हुँदै गएको र परम्परागत दल तथा नेतृत्वप्रति जनअसन्तुष्टि बढ्दै गएको, ती पार्टीभित्र तत्काल विकल्प बन्न नसक्ने अवस्थामा बालेन शाह उदाए । परम्परागत शीर्ष नेतृत्वको एउटा हिस्सा भ्रष्टाचारमा फस्यो । भ्रष्टाचारमा नफसेको नेतृत्वको ठूलो हिस्सा पनि समयसँगै गतिशील हुन सकेन । इतिहास बोकेका कतिपय दल र नेतृत्व जड बन्दै गएपछि विकल्प राजनीतिक मूलधार, पुराना दलभित्रबाट होइन, बाहिरबाट जन्मिएकाे हाे । 

 

यही राजनीतिक रिक्ततामा बालेन शाहको उदय भएकाे हाे । तर, उनलाई जनताले उत्कृष्ट विकल्प ठानेर रोजेका हुन् भन्ने निष्कर्ष निकाल्नु अहिले हतार हुनेछ । उनी मूलतः राजनीतिक रिक्ततामा देखापरेको ‘अड्को फड्को तेलको धुप’ हुन । पुराना दल र नेतृत्वप्रतिको असन्तुष्टि, आक्रोश र निराशाको अस्थायी अभिव्यक्ति । त्यसैले बालेनको उदयलाई उनको व्यक्तिगत लोकप्रियताको परिणामका रूपमा भन्दा पनि मुलत: परम्परागत राजनीतिक शक्तिहरूले सिर्जना गरेको रिक्तताको परिणामका रूपमा बुझ्नुपर्छ । इतिहासले देखाएको कुरा के हो भने जब स्थापित शक्ति जनताबाट टाढिँदै जान्छन्, विकल्प खोज्ने काम जनता आफैंले गर्छन् । तर, हरेक नयाँ विकल्प दीर्घकालीन राजनीतिक विकल्प हुन्छ भन्ने चाहिँ हुँदैन ।

फेरि पनि हामीले पढेकाे/भाेगेकाे कुरा हाे,  नेतृत्व सधैँ योजनाबद्ध रूपमा जन्मिँदैन । समय, परिस्थिति र आवश्यकताले कहिलेकाहीँ नयाँ नेतृत्वलाई अगाडि ल्याउँछ । तर, अवसर पाउँदैमा नेतृत्व स्थापित हुन्छ भन्ने हुँदैन । यसले अवसरले ढोका खोल्छ । त्यसलाई इतिहास बदल्ने शक्तिमा रूपान्तरण गर्न सक्ने वा नसक्ने भन्ने कुरा स्वयम् नेतृत्वकै हातमा हुन्छ । जनविश्वासलाई आधार बनाएर आफूलाई निरन्तर परिष्कृत गर्ने, चुनौतीबाट सिक्ने र बदलिँदो परिस्थितिलाई सही दिशामा मोड्ने नेतृत्व मात्र दीर्घकालीन रूपमा प्रभावशाली बन्छ । 

यदि बालेन असफल भए भने नयाँ शक्ति जन्मिन सक्छ । तर, त्यो शक्ति पुरानै शैलीको  हुँदैन । पुरानै नेताको संरक्षणमा दूध खुवाएर हुर्काएका युवाबाट पनि विकल्प सम्भव छैन । इमानदार, सिद्धान्तनिष्ठ र जनताप्रति जवाफदेह नेतृत्व मात्र सही विकल्प बन्न सक्छ । बालेन र रास्वपाको विकल्प त्यही शक्तिले दिन सक्छ । कुन शक्ति जनताको पक्षमा छ ? कुन सत्ता र स्वार्थमा छ ? जनताले तथ्य र इतिहासका आधारमा हेरिरहेका छन् । मूल्यांकन गरिरहेका छन् ।

बालेन सफल/असफल हुने कुराकाे उत्तर समयले दिनेछ । तर, एउटा कुरा निश्चित छ, जनताको पक्षमा उभिए, इमानदार रहे र भ्रष्टाचारबाट टाढा रहे भने सफल हुनेछन् । पुरानै नेताहरूजस्तै बने भने उनी पनि इतिहासको कचरामा फालिनेछन् । 

नेपाली जनता अब पुरानो नेतृत्व, राजनीतिबाट थकित छन् । दशकौँदेखि विकास, सुशासन र समृद्धिको सपना देखे तर पाए भ्रष्टाचार, अक्षमता र अस्थिरता । यही कारण उनीहरूले नयाँ विकल्प खोजेका हुन् । बालेन त्यो विकल्प बनेका हुन् । तर, उनको परीक्षा पनि सुरु भइसकेको छ । उनले जनताको विश्वास निरन्तर जितिरहनुपर्छ र पुरानो राजनीतिक संस्कृतिबाट आफूलाई मुक्त राख्नुपर्छ । आफ्नाे लुटको स्वर्ग जोगाउन पुराना शासकहरूले बालेनलाई वाह्य शक्ति र रास्वपाभित्रैबाट हठात् हटाए भने देश पछाडि त धकेलिन्छ नै, अकल्पनीय रूपमा राजनीतिक दुर्घटनामा जान सक्छ । 

नेपालको इतिहासले एउटा कुरा देखाएको छ । जनताको विश्वास जित्ने शक्ति नै अन्ततः विजयी हुन्छ । राणा शासन, पञ्चायत र सक्रिय राजतन्त्र फर्किने सपना देखिए तर ती फर्किएनन् । हाे, अब नेपाललाई नयाँ शक्तिको आवश्यकता भएर नै जनताले अहिले बालेनलाई राेजेका हुन । उनकाे विकल्पमा आउने शक्ति इमानदार हुनुपर्छ । जनतासँग जोडिएको हुनुपर्छ । पुरानो गलत कार्यशैलीबाट मुक्त हुनुपर्छ । नयाँ शक्ति नाममा मात्र होइन, विचार, व्यवहार र काममा पनि नयाँ हुनुपर्छ ।