स्रोतको सही उपयोग गर्दै इमानदार भएर काम गर्ने मन्त्रीद्वय गौतम र लम्सालको उद्घोष
रामेछाप। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सीमित स्रोत–साधनका बाबजुद इमानदारीपूर्वक काम गर्दै विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकार निरन्तर क्रियाशील रहेको बताएका छन्।शनिबार मन्थलीमा आयोजित एक भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गौतमले विगतमा अपेक्षा अनुसार कामको गति बढ्न नसकेको स्वीकार गर्दै वर्तमान सरकार देखा परेका समस्या छिटो समाधान गर्न सक्रिय रहेको उल्लेख गरिन्।
देशको समग्र विकासका लागि नेतृत्व तह इमानदार हुनुपर्नेमा जोड दिँदै उनले भनिन्, “सीमित ढुकुटीको इमानदारीपूर्वक उपयोग गर्दै सामूहिक रूपमा अघि बढ्न सके धेरै काम गर्न सकिन्छ। कर्मचारीतन्त्रमा देखिएका कमजोरीलाई पनि नियन्त्रण गर्दै लगिनेछ।”
उनले कानुन निर्माण र सुधारका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै आवश्यक कानुनी संशोधनका लागि सरोकारवालाहरूबाट रचनात्मक सुझावको अपेक्षा गरिएको बताइन्। सरकारले कानुन सुधारका साथसाथै विकास निर्माणलाई पनि उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेकाले सबैलाई आशावादी हुन उनले आग्रह गरिन्।यसैगरी, सोही कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षका लागि सरकारले विकास निर्माणका लागि एकमुष्ट बजेटको व्यवस्था गरिसकेको जानकारी दिए। उनले स्थानीय तहका जनप्रतिनिधि तथा पालिका सभापतिहरूलाई आवश्यक र प्राथमिकताका योजना लिएर मन्त्रालयमा आउन आग्रह गर्दै बजेटको अभावमा कसैलाई खाली हात नफर्काइने प्रतिबद्धता जनाए।
मन्त्री लम्सालले पालिका केन्द्रसम्म सडक सञ्जाल विस्तार गर्ने र जोड्ने सडकहरू कालोपत्रे गर्ने कामलाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारे। “सडक निर्माणका लागि पर्याप्त बजेट छ, समस्या बजेटको होइन। पार्टीका पालिका सभापतिहरूले प्रश्न उठाउने भन्दा पनि स्पष्ट योजना र माग लिएर मन्त्रालयमा आउनुपर्छ, काम रोकिँदैन,” उनले भने।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया