Techie IT
KTM Post
सोमबार, ११ साउन, २०८३

देवानगञ्ज घटनाप्रति स्वास्थ्यमन्त्री निशा मेहताद्वारा शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल


काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको दुःखद् घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गम्भीर चासो व्यक्त गर्दै सम्पूर्ण क्षेत्रमा शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेकी छन्।मन्त्री मेहताले घटनामा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेकी छन्।

यसका साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूलाई आवश्यक पर्ने सम्पूर्ण उपचारको व्यवस्थाका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको जानकारी दिएकी छन्।

घटना घटेको जानकारी प्राप्त हुनासाथ मन्त्री मेहताले स्थानीय सुरक्षा निकाय तथा जिल्ला प्रशासनसँग तत्काल सम्पर्क गरी घटनास्थलको अवस्था नियन्त्रणमा लिन, घाइतेहरूको प्रभावकारी उपचारको प्रबन्ध मिलाउन र क्षेत्रको शान्ति सुरक्षा सुदृढ बनाउन आवश्यक पहलकदमी र समन्वय सुरु गरेका थिए।संवेदनशील परिस्थितिमा कुनै पनि किसिमका अपुष्ट समाचार, अनर्गल सूचना वा भ्रामक अफवाहको पछि नलाग्न मन्त्री मेहताले सबै नागरिकसँग आग्रह गरेकी छन्। साथै, एकापसको सामाजिक सद्भाव र वर्षौँदेखि कायम आपसी भाइचारामा आँच आउने वा असर पुग्ने कुनै पनि प्रकारका गतिविधिबाट टाढा रहन पनि उनले जोड दिएकी छन्।

उनले सम्बन्धित जिम्मेवार निकायहरूबाट घटनाको निष्पक्ष र सूक्ष्म छानबिन गरी यथाशीघ्र सत्यतथ्य विवरण सार्वजनिक हुने विश्वास व्यक्त गरेकी छन्। यस कठिन र संवेदनशील घडीमा सबै पक्षले धैर्य, उच्च संयमता र जिम्मेवारीका साथ प्रस्तुत भएर शान्ति सुरक्षा कायम राख्न पूर्ण सहयोग पुर्‍याउन समेत मन्त्री मेहताले हार्दिक अपिल गरेकी छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट