आज २०औं लोकतन्त्र दिवस देशभर मनाइँदै
काठमाडौं। नेपालमा आज २०औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदैछ। विसं २०६३ सालको जनआन्दोलनले ल्याएको ऐतिहासिक परिवर्तनको स्मरण गर्दै हरेक वर्ष वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए। सोही दिन जनताको विजय भएको खुसीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो।
तत्कालीन अवस्थामा राजा ज्ञानेन्द्रले लोकतन्त्रको मूल्य र मान्यता विपरीत शासन सत्ता आफ्नो हातमा लिएका थिए। विसं २०६१ माघ १९ गतेको कदमपछि मुलुकमा उत्पन्न राजनीतिक संकटलाई समाधान गर्न आन्दोलनरत सात दल र तत्कालीन नेकपा ९माओवादी० का बीच १२ बुँदे समझदारी भएको थियो। २०६२ साल मंसिरको सो समझदारीले तीन ध्रुवमा विभाजित शक्तिहरूलाई दुई ध्रुवमा ल्याएपछि आन्दोलनले थप बल प्राप्त गर्यो।
तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलन वैशाखसम्म आइपुग्दा चुलिएको थियो। चक्रपथमा ओइरिएको जनसागरका कारण राजा ज्ञानेन्द्र आन्दोलनरत दलहरूको मस्यौदामा सहमत भई संसद् पुनर्स्थापनाको घोषणा गर्न बाध्य भएका थिए।
क्याटेगोरी : राजनीति, समाचार










प्रतिक्रिया