Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

असारभित्रै बजेट तथा कार्यक्रमको लागत अनुमान र बोलपत्र तयारी सक्ने सरकारको लक्ष्य


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन लागत अनुमान तथा बोलपत्र तयारीको काम असार मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य तय गरेको छ।

२ असारमा मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले उक्त निर्णय गरेको हो। बैठकले सबै मन्त्रालयलाई आफ्नो मातहतका निकायसहित संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण तोकिएको समयसीमाभित्र सम्पन्न गर्न पनि निर्देशन दिएको छ।

त्यसैगरी, भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आगजनीबाट क्षति पुगेका सवारीसाधन, फर्निचर तथा यन्त्र–उपकरणको प्रचलित कानुनअनुसार मिनाहा वा लिलामी प्रक्रिया असार १५ भित्र पूरा गरी कार्यालय परिसरबाट हटाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई भनिएको छ।

बैठकले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा उल्लेख भएका बेरुजु फर्स्योटलाई उच्च प्राथमिकतामा राख्दै सबै मन्त्रालय, विभाग तथा निकायले साप्ताहिक प्रगति विवरण अनिवार्य रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र बेरुजु फर्स्योट समितिमा पठाउने निर्णय पनि गरेको छ।

यस्तै, भदौ २३ र २४ को घटनामा स्रेस्ता जलेर लेखापरीक्षण प्रभावित भएका वा लेखापरीक्षण गराउन कठिनाइ भएका निकायले कानुनबमोजिम महालेखा परीक्षकको कार्यालयसँग समन्वय गरी लेखापरीक्षण प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।

सचिव बैठकले सरकारको शासकीय सुधारअन्तर्गत तय गरिएका १०० कार्यसूचीमा समेटिएका कानुन तर्जुमा तथा संशोधनसम्बन्धी विधेयक अविलम्ब संघीय संसद्मा दर्ता गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट