विष्णु पाैडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सक्कल मिसिल झिकाउन आदेश
काठमाडौं । एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले रिटसँग सम्बन्धित तथ्य, प्रमाण र कागजातको समग्र अध्ययनका लागि विशेष अदालतबाट सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल पेस गर्न आदेश जारी गरेको हो । पौडेलकी श्रीमती दोमाया पौडेलले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा उठाइएका विषय र विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाबीच सम्बन्ध देखिएकाले न्यायिक निरुपणका लागि सक्कल मिसिल आवश्यक रहेको ठहर गर्दै उक्त आदेश दिएको हो ।
अदालतको आदेशअनुसार विशेष अदालतमा रहेको सम्पूर्ण मिसिल सर्वोच्च अदालतमा पेश गरिनेछ। त्यसपछि सम्बन्धित कागजात, प्रमाण तथा मुद्दासँग जोडिएका अन्य विवरणको अध्ययन गरी रिटमाथिको सुनुवाइलाई अघि बढाइनेछ ।
सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ। सर्वोच्च अदालतले माग गरेको मिसिल प्राप्त भएपछि रिट निवेदनमाथिको थप सुनुवाइ र निर्णय प्रक्रिया अघि बढ्नेछ ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया