विश्वकपमा सहभागी नभएको नेपालले पाउँदैछ १ अर्ब २२ करोड
सन् २०२६ को फिफा विश्वकप फुटबल आर्थिक हिसाबले इतिहासकै सबैभन्दा सफल संस्करण बन्ने प्रक्षेपण गरिएको छ। ४८ टोली र १०४ खेल समेटिएको नयाँ ढाँचाका कारण फिफा तथा आयोजक राष्ट्रहरूले अघिल्ला सबै आम्दानीका रेकर्ड तोड्ने अपेक्षा गरिएको हो।
फिफाको आर्थिक प्रतिवेदनअनुसार सन् २०२३–२०२६ को विश्वकप चक्रमा संस्थाले करिब १३ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरिएको छ। यो सन् २०१९–२०२२ चक्रको ७.५७ अर्ब डलर भन्दा उल्लेखनीय रूपमा बढी हो। कुल आम्दानीमध्ये करिब ८.९ अर्ब डलर विश्वकप प्रतियोगिता र त्यससँग प्रत्यक्ष जोडिएका गतिविधिबाट प्राप्त हुने अपेक्षा गरिएको छ।
सबैभन्दा ठूलो आम्दानी टेलिभिजन तथा डिजिटल प्रसारण अधिकार बिक्रीबाट हुनेछ। विश्वभरका प्रसारण संस्था र ओटीटी प्लेटफर्मसँगको सम्झौताबाट ३.९ देखि ४.३ अर्ब अमेरिकी डलर संकलन हुने प्रक्षेपण छ।
टिकट बिक्री र हस्पिटालिटी सेवाबाट करिब ३ अर्ब डलर आम्दानी हुने अनुमान गरिएको छ। यसपटक पहिलोपटक लागू गरिएको डाइनामिक प्राइसिङ प्रणाली, आधिकारिक रिसेल प्लेटफर्म तथा अमेरिका, क्यानडा र मेक्सिकाका ठूलो क्षमताका रंगशालाले टिकट आम्दानी बढाउने अपेक्षा गरिएको छ।
प्रायोजन र व्यावसायिक साझेदारीबाट १.८ देखि २.८ अर्ब डलर तथा लाइसेन्सिङ र ब्रान्ड प्रयोगबाट थप १०० मिलियन डलर संकलन हुने अनुमान छ।
फिफाले आफू गैरनाफामूलक संस्था भएकाले कुल आम्दानीमध्ये करिब ११.६७ अर्ब डलर विश्व फुटबलको विकास र प्रतियोगिता सञ्चालनमा पुनः लगानी गर्ने जनाएको छ। प्रतियोगिता सञ्चालनमा मात्र ३.८ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ।
पुरस्कार र तयारी खर्चका लागि फिफाले इतिहासकै ठूलो ८७१ मिलियन अमेरिकी डलरको प्याकेज स्वीकृत गरेको छ। विश्वकप विजेता टोलीले ५ करोड अमेरिकी डलर प्राप्त गर्नेछ भने प्रत्येक सहभागी टोलीले पुरस्कार र तयारी खर्चसहित झण्डै १२.५ मिलियन डलर पाउनेछ।
यस्तै, राष्ट्रिय टोलीमा खेलाडी पठाउने क्लबहरूलाई क्षतिपूर्तिस्वरूप ३५५ मिलियन डलर छुट्याइएको छ। खेलाडी विश्वकपमा रहँदासम्म क्लबहरूले दैनिक ११ हजार डलरसम्म प्राप्त गर्ने व्यवस्था छ।
विश्व फुटबल विकासका लागि फिफा फरवार्ड ३.० कार्यक्रममार्फत करिब २.७ अर्ब डलर २११ सदस्य राष्ट्र र ६ महादेशीय महासंघलाई वितरण गरिनेछ। यसअन्तर्गत प्रत्येक सदस्य राष्ट्रले अधिकतम ८० लाख अमेरिकी डलरसम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
यस आधारमा नेपालले पनि एन्फामार्फत अधिकतम ८० लाख अमेरिकी डलर, अर्थात् करिब १ अर्ब २२ करोड रुपैयाँ बराबरको सहयोग प्राप्त गर्न सक्नेछ। तर उक्त रकम स्वीकृत परियोजना, प्रगति प्रतिवेदन, लेखापरीक्षण तथा फिफाका मापदण्ड पूरा गरेपछि मात्रै किस्तागत रूपमा उपलब्ध गराइनेछ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया