७२ वर्षपछिको सफलता: कोलम्बियालाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा
काठमाडौं । स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप–२०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा बुधबार बिहान भएको अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डले कोलम्बियामाथि ४–३ को पेनाल्टी जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो।
निर्धारित ९० मिनेट र त्यसपछिको अतिरिक्त ३० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
सुटआउटमा स्विट्जरल्यान्डका कप्तान ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गर्दै टोलीलाई जित दिलाए। कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यो जितसँगै स्विट्जरल्यान्डले ७२ वर्षपछि पहिलोपटक विश्वकपको क्वाटरफाइनल यात्रा तय गरेको छ। सन् १९५४ मा आफ्नै भूमिमा आयोजित विश्वकपमा अन्तिम आठमा पुगेपछि स्विट्जरल्यान्ड त्यस उपलब्धिबाट वञ्चित रहँदै आएको थियो।
विश्वकप इतिहासमा १३औँ सहभागिता जनाइरहेको स्विट्जरल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिनाले यसअघि इजिप्टलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया