Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

नवनियुक्त वैज्ञानिकलाई मन्त्री चौधरीको निर्देशनः अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ


काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त वरिष्ठ वैज्ञानिक तथा वैज्ञानिकहरूलाई अनुसन्धानलाई प्रयोगशालामा मात्र सीमित नराखी किसानको खेतबारीसम्म पुर्‍याउन निर्देशन दिनुभएको छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) द्वारा आयोजित नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रम तथा राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) को अनुगमनका क्रममा मन्त्री चौधरीले कृषि अनुसन्धानको प्रत्यक्ष प्रभाव किसानको उत्पादन, उत्पादकत्व र जीवनस्तरमा देखिनुपर्ने बताए।

उनले नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि भएकाले कृषि रूपान्तरणको आधार नै अनुसन्धान भएको उल्लेख गर्दै वैज्ञानिकहरूको भूमिका केवल कार्यालय वा प्रयोगशालामा सीमित नरहने स्पष्ट पारे। ‘तपाईंहरू पुग्ने प्रत्येक अनुसन्धान केन्द्र र किसानको खेत नै जीवित प्रयोगशाला हो। किसानका समस्या पहिचान गरेर वैज्ञानिक समाधान दिनु नै तपाईंहरूको मुख्य जिम्मेवारी हो,’ मन्त्री चौधरीले भने।

मन्त्री चौधरीले अनुसन्धानको प्रतिफल किसानसम्म नपुगेसम्म त्यसको वास्तविक अर्थ नहुने उल्लेख गर्दै प्रदेश तथा स्थानीय सरकार, विश्वविद्यालय, निजी क्षेत्र र किसानसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउन आग्रह गरे।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट