Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

‘ध्रुवे’ हात्ती दुई दिनदेखि बेपत्ता, रेडियो कलरले पनि दिएन संकेत


काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट बाहिरिएर भरतपुर महानगरपालिका–२३ मा दुई जनाको ज्यान लिएको जंगली भाले हात्ती ‘ध्रुवे’ दुई दिनदेखि सम्पर्कविहीन भएको छ।

निकुञ्जको सुखीभार क्षेत्रमा नियमित बस्ने ध्रुवेको खोजीका लागि निकुञ्ज प्रशासनले टोली परिचालन गरेको छ। नेपाली सेनाको नयाँ गोरख गणका सुरक्षाकर्मीसहितको टोलीले खोजी गरिरहेको भए पनि हालसम्म हात्ती फेला पार्न सकेको छैन।

ध्रुवेको घाँटीमा जडान गरिएको रेडियो कलरले समेत संकेत नदेखाएपछि उसको अवस्थाबारे जानकारी लिन समस्या भएको निकुञ्जले जनाएको छ। निकुञ्जको कोर क्षेत्रमा पुगेको अवस्थामा रेडियो कलरले सिग्नल नदिने र टावरको पहुँच भएको क्षेत्रमा आएपछि मात्रै संकेत देखाउने व्यवस्था रहेको छ।

गत असार २० गते राति भरतपुर–२३ बेलहठ्ठामा सुतिरहेका बेला ध्रुवेको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको मृत्यु भएको थियो। त्यसपछि निकुञ्जले ध्रुवेको निगरानीका लागि नयाँ स्याटलाइट प्रणालीको रेडियो कलर जडान गर्ने र दाह्रा काट्ने तयारी अघि बढाएको हो।

निकुञ्जले हाल प्रयोग भइरहेको जीपीएस रेडियो कलर हटाएर नयाँ रेडियो कलर जडान गर्ने तयारी गरेको छ। ध्रुवे भेटिए डार्ट (बेहोस) गरी नियन्त्रणमा लिने क्रममा दाह्रा काट्ने योजना बनाइएको छ।

ध्रुवे जहाँ भेटिए पनि तत्काल डार्ट गर्ने तयारीसहित टोली खोजीमा लागेको छ। तर, दुई दिनसम्म खोजी गर्दा पनि हात्ती फेला नपरेपछि प्रक्रिया ढिलाइ भएको छ।

आक्रमणबाट २५ जनाको मृत्यु

ध्रुवे चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मानवीय क्षति पुर्‍याउने हात्तीका रूपमा चिनिन्छ। यसको आक्रमणबाट हालसम्म २५ जनाको मृत्यु भइसकेको छ।

यसअघि २०७४ सालमा नेपाली सेनाका एक मेजरको ज्यान लिएको ध्रुवेले करिब नौ वर्षपछि फेरि दुई जनाको ज्यान लिएको हो।

२०६६ साल माघदेखि मानिसमाथि आक्रमण गर्न थालेको ध्रुवेले २०६९ सालसम्म करिब तीन वर्षको अवधिमा १५ जनाको ज्यान लिएको थियो। माडी क्षेत्रमा यसको आतंक बढेपछि २०६९ सालमा ध्रुवेलाई नियन्त्रणमा लिने तथा मार्ने निर्णयसमेत गरिएको थियो।

सेनाको गोलीबाट समेत जोगिँदै आएको ध्रुवे केही समय हराएपछि पुनः चितवन निकुञ्जको सुखीभार क्षेत्रमा देखिन थालेको थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट