हर्मुजमा फेरि अमेरिका-इरान भिडन्त
काठमाडौं। रणनीतिक महत्त्व बोकेको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच दोस्रो दिन पनि सैन्य आक्रमण र प्रतिआक्रमण जारी रहेको छ। समुद्री मार्गको नियन्त्रण, अन्तर्राष्ट्रिय व्यापारिक जहाजको आवागमन तथा क्षेत्रीय सुरक्षालाई लिएर दुवै देशबीचको तनाव झन् चर्किँदै गएको छ।
अमेरिकी सेनाले हर्मुज जलघाँटीमा अन्तर्राष्ट्रिय जहाजहरूको सुरक्षित आवागमनमा बाधा पुर्याउन सक्ने इरानी सैन्य क्षमतामाथि लक्षित कारबाही गरिएको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार इरानका करिब ९० सैन्य लक्ष्यमा हवाई तथा क्षेप्यास्त्र आक्रमण गरिएको छ।आक्रमण इरानको उत्तरपूर्वी क्षेत्रमा रहेको रेल पुल, बुसेहरस्थित सैन्य आधार, बन्दर अब्बास, कोणार्क, चाबहार तथा किश टापु आसपासका क्षेत्रमा केन्द्रित भएको बताइएको छ। इरानी सञ्चारमाध्यमहरूले केही स्थानमा विद्युत् सेवा समेत प्रभावित भएको जनाएका छन्।
यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाएको छ।
बहराइनको राजधानी मनामामा विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् भने कुवेतले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले अधिकांश क्षेप्यास्त्र र ड्रोन निष्क्रिय पारेको दाबी गरेको छ। अमेरिकी अधिकारीहरूका अनुसार पछिल्लो आक्रमणबाट अमेरिकी पक्षमा कुनै ठूलो क्षति वा मानवीय हताहत भएको छैन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको घोषणा गर्दै आवश्यक परे थप सैन्य कारबाही गर्न अमेरिका तयार रहेको चेतावनी दिएका छन्। यद्यपि, उनले कूटनीतिक वार्ताका लागि ढोका अझै खुला रहेको पनि बताएका छन्।
ट्रुथ सोसलमार्फत ट्रम्पले इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोधस्वरूप अमेरिकी सैन्य कारबाही गरिएको दाबी गरेका छन्। एयर फोर्स वनमा पत्रकारसँग कुरा गर्दै उनले इरानी पक्षबाट सम्पर्क भएको उल्लेख गरे पनि त्यसबारे थप विवरण सार्वजनिक गरेका छैनन्।यता, इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालीबाफले हर्मुज जलघाँटी इरानी व्यवस्थाअन्तर्गत सञ्चालन हुने अडान दोहोर्याएका छन्। उनले अमेरिकाले धम्की र सम्झौता उल्लंघनको कुनै परिणाम नहुने ठान्न नहुने चेतावनी दिँदै इरानमाथि हुने कुनै पनि आक्रमणको जवाफ कडा रूपमा दिइने बताएका छन्।
फेब्रुअरीमा अमेरिका–इजरायलको आक्रमणपछि सुरु भएको युद्धयता इरानले हर्मुज जलघाँटीमाथिको नियन्त्रणलाई अझ कडा बनाउँदै आएको छ। तेहरानले जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने तथा निर्धारित मार्ग उल्लंघन गर्ने जहाजमाथि कारबाही गर्ने नीति सार्वजनिक गरिसकेको छ।हालै इरानले कम्तीमा तीनवटा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले व्यापक सैन्य अभियान सुरु गरेको हो।
यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमका अनुसार पछिल्लो अमेरिकी आक्रमणमा आठ इरानी सैनिकको मृत्यु भएको छ। सेन्टकमले भने यसअघि ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण गरिएको जनाएको थियो।
क्षेत्रीय तनाव बढ्दै जाँदा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेका छन्। अमेरिका–इरान संवादका मध्यस्थकर्तामध्ये एक पाकिस्तानले पनि तनाव नियन्त्रणका लागि तत्काल कूटनीतिक पहल आवश्यक रहेको जनाएको छ।इरानी विदेशमन्त्री अब्बास अराघची र कतारका प्रधानमन्त्रीबीच भएको टेलिफोन वार्तामा पनि सैन्य विकल्पभन्दा संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिइएको इरानी पक्षले जनाएको छ।
हर्मुज जलघाँटीको अर्को किनारमा रहेको ओमानले बहराइन, कुवेत तथा व्यापारिक जहाजमाथि भएका आक्रमणको निन्दा गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। युद्ध सुरु भएदेखि नै तटस्थ भूमिका लिँदै आएको ओमानले समुद्री सुरक्षासम्बन्धी वार्तालाई निरन्तरता दिइरहेको जनाएको छ।
पछिल्लो तनावका कारण अन्तर्राष्ट्रिय समुद्री यातायात पुनः प्रभावित भएको छ। अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) का प्रमुख आर्सेनियो डोमिङ्गेजका अनुसार हाल करिब ६ हजार नाविक हर्मुज क्षेत्रका विभिन्न जहाजमा जोखिमपूर्ण अवस्थामै रहेका छन्।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया