Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

स्वास्थ्य मन्त्री निशा मेहताको अपेक्षा: नर्वेको सहयोगमा स्वास्थ्य पूर्वाधार र नसर्ने रोग नियन्त्रणमा जोड


काठमाडाैं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाल र नर्वेबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा भइरहेको आपसी सहकार्यलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ।छलफलका क्रममा नर्वे सरकारको सहयोगमा नेपालमा सञ्चालित स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा र अनुसन्धान जस्ता महत्त्वपूर्ण क्षेत्रहरूका कार्यक्रमको समीक्षा गरिएको थियो।

यसका साथै मातृ तथा बाल स्वास्थ्य एवं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायतका क्षेत्रमा भइरहेका विभिन्न गतिविधि र तिनको प्रभावकारिताका बारेमा समेत दुई पक्षबीच विस्तृत कुराकानी भएको थियो।भेटका क्रममा स्वास्थ्य मन्त्री मेहताले नेपालको वर्तमान आवश्यकता र बढ्दो रोगको भारलाई दृष्टिगत गर्दै सरकारका आगामी योजनाहरू प्रस्ट पारेकी थिइन्।

उनले स्वास्थ्य पूर्वाधारको विकास, स्वास्थ्य सेवाको डिजिटलाइजेसन, जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारेको असर, नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवाको सुदृढीकरण, स्वास्थ्य पर्यटन र जडीबुटी क्षेत्रको प्रवर्द्धनलाई सरकारले विशेष प्राथमिकतामा राखेको जानकारी दिइन्। यी प्राथमिकताका क्षेत्रहरूमा नर्वे सरकारसँग आगामी दिनमा थप लगानी र प्राविधिक सहकार्यको बलियो अपेक्षा रहेको मन्त्री मेहताले उल्लेख गरिन्।

जवाफमा नर्वेकी राजदूत म्योसले नर्वे सरकारले नेपाल सरकारका विकास प्राथमिकताहरूलाई सधैँ सम्मान गर्ने बताउँदै स्वास्थ्यलगायत विभिन्न सामाजिक क्षेत्रमा उपलब्ध गराउँदै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनले नेपालको स्वास्थ्य प्रणालीलाई थप सबल बनाउनका लागि नयाँ सहकार्यका कार्यक्रमहरू अघि बढाउने तयारी भइरहेको जानकारी समेत दिइन्। नेपाल र नर्वेबीच स्वास्थ्य, शिक्षा तथा दिगो विकासका विभिन्न क्षेत्रमा लामो समयदेखि फलदायी सहकार्य हुँदै आएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट