अर्जेन्टिना-इजिप्ट खेलका रेफ्रिविरुद्ध फिफामा उजुरी
काठमाडौँ । इजिप्टको फुटबल सङ्घले विश्वकप २०२६ को ‘राउन्ड अफ १६’ अन्तर्गत अर्जेन्टिनासँगको खेलमा विवादास्पद निर्णयहरू गरेको भन्दै फ्रान्सेली रेफ्री फ्रान्स्वा लेटेक्सियर र उनको टोली विरुद्ध सर्वोच्च फुटबल निकाय फिफामा औपचारिक उजुरी दर्ता गराएको छ।
एटलान्टामा भएको उक्त खेलमा इजिप्ट सुरुमा २-० ले अगाडि रहे पनि खेलको अन्तिम समयमा साविक विजेता अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै ३-२ को जित निकालेको थियो। इजिप्टको फुटबल सङ्घका अध्यक्ष हानी अबु रिदाद्वारा दायर गरिएको उजुरीमा खेलका क्रममा रेफ्रीले गम्भीर गल्ती र दोहोरो मापदण्ड अपनाएको आरोप लगाइएको छ।
इजिप्टले खेलमा १-० को अग्रता लिएका बेला मोस्तफा जिकोले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा रद्द गरिएको थियो। तर, खेलको ९३औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले निर्णायक गोल गर्नुअघि इजिप्टका कप्तान मोहम्मद सलाहमाथि पेनाल्टी बक्सभित्र भएको फललाई भने रेफ्री र भीएआर टोलीले बेवास्ता गरेको इजिप्टको दाबी छ।
इजिप्टले रेफ्री लेटेक्सियरसहित भिडियो प्रविधि टोलीमाथि ‘इजिप्टको राष्ट्रिय टोली विरुद्ध पक्षपातपूर्ण व्यवहार गरेको’ आरोप लगाउँदै उनीहरूलाई जारी विश्वकपका बाँकी खेलहरू सञ्चालन गर्न नपाउने गरी तुरुन्त निष्कासन गर्न माग गरेको छ।
यसैबीच, इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले खेलमा न्याय र निष्पक्षता मरेको भन्दै आफ्नो टोलीमाथि अन्याय भएको आक्रोश व्यक्त गरेका छन् । उनले फिफाले लियोनेल मेसी र अर्जेन्टिनालाई प्रतियोगितामा टिकाइराख्न दबाबमा परेर यस्तो निर्णय गराएको आरोप लगाउँदै विरोध स्वरूप आफूले अब यस विश्वकपका बाँकी खेलहरू नहेर्ने घोषणा समेत गरेका छन् ।
फिफाले उजुरी प्राप्त भएको पुष्टि गरे पनि प्रतियोगिताको मध्यतिर रेफ्रीलाई निष्कासन गर्ने सम्भावना भने निकै कम रहेको खेल विश्लेषकहरू बताउँछन्।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया