वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी बन्द
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालन हुँदै आएको जंगल सफारी सेवा आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। वर्षायाममा उत्पन्न हुन सक्ने प्राकृतिक जोखिम तथा वन्यजन्तुको प्रजनन अवधिलाई ध्यानमा राख्दै निकुञ्ज प्रशासनले सफारी सेवा स्थगित गरेको हो।
निकुञ्जले हरेक वर्ष मनसुन अवधिभर जंगल सफारी बन्द गर्ने परम्पराअनुसार यस वर्ष पनि अर्को सूचना जारी नभएसम्मका लागि सेवा रोकिएको जनाएको छ। विगतका वर्षहरूमा जस्तै मौसम अनुकूल बनेपछि आगामी दसैं आसपासबाट सफारी पुनः सञ्चालनमा ल्याइने अपेक्षा गरिएको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षाका कारण कच्ची सडक बिग्रिने, खोलानालामा बाढी आउने तथा रुख ढलेर बाटो अवरुद्ध हुने जोखिम उच्च रहने भएकाले पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।उनले मनसुनको समय वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि संवेदनशील अवधि भएकाले प्राकृतिक वातावरणमा अनावश्यक हस्तक्षेप हुन नदिन पनि सफारी बन्द गरिएको बताए।
आजदेखि सौराहा, कसरा, मेघौली, माडी तथा नवलपरासीका विभिन्न प्रवेश नाकाबाट सञ्चालन हुने व्यावसायिक जीप सफारी सेवा पूर्ण रूपमा रोकिएका छन्।यद्यपि, निकुञ्ज आसपासका सामुदायिक वन क्षेत्रमा सञ्चालन हुने सफारी कार्यक्रम भने नियमित रूपमा जारी रहने निकुञ्ज प्रशासनले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा आउने अधिकांश आन्तरिक तथा विदेशी पर्यटकका लागि जीप सफारी मुख्य आकर्षण मानिन्छ। घना जंगल र दुर्लभ वन्यजन्तुको अवलोकन गर्ने अवसर प्रदान गर्ने यो सेवा अब केही महिनासम्म बन्द रहने भएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया