Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

बागलुङ नगरपालिकाको अभिनव ‘कुकुर होस्टेल’: सामुदायिक कुकुरहरूको सुरक्षित बास र व्यवस्थापन


बागलुङ । सामुदायिक कुकुरहरूको संरक्षण, व्यवस्थापन र उचित हेरचाहका लागि बागलुङ नगरपालिकाले ‘कुकुर होस्टेल’ सञ्चालनमा ल्याएको छ। सडकमा रहेका बेवारिसे तथा समस्याग्रस्त कुकुरहरूको उद्धार र पुनर्स्थापनालाई लक्ष्य गर्दै नगरपालिकाले यो पहल थालेको हो।

बागलुङ बजार क्षेत्रका सामुदायिक कुकुरहरूलाई आवासीय सुविधासहित सुरक्षित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले होस्टेल सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ। यसमार्फत कुकुरहरूको स्वास्थ्योपचार, बन्ध्याकरण तथा नियमित हेरचाह गरिने व्यवस्था मिलाइएको छ।होस्टेलको उद्घाटन गर्दै नगर प्रमुख वसन्तकुमार श्रेष्ठले सामुदायिक कुकुर व्यवस्थापनमा यो पहल नेपालकै लागि नयाँ र उदाहरणीय अभ्यास बन्न सक्ने विश्वास व्यक्त गरे। उनका अनुसार यसले सडक कुकुरहरूको सङ्ख्या नियन्त्रणसँगै उनीहरूको संरक्षण र कल्याणमा समेत सकारात्मक योगदान पुर्‍याउनेछ।

होस्टेलमा विशेषगरी बेवारिसे, बिरामी तथा अशक्त कुकुरहरूको उद्धार गरी उपचार र पुनर्स्थापनाको व्यवस्था गरिएको छ। बन्ध्याकरण कार्यक्रमलाई प्राथमिकतामा राखिएकाले दीर्घकालीन रूपमा सामुदायिक कुकुरहरूको अनियन्त्रित वृद्धि रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नगरपालिकाले यो कार्यक्रमले समुदायमा पशुजन्य समस्याहरू न्यूनीकरण गर्नुका साथै पशु अधिकार र मानवीय व्यवहारलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ।बागलुङको यो प्रयासले अन्य स्थानीय तहहरूलाई पनि सामुदायिक कुकुर व्यवस्थापनका लागि प्रभावकारी र मानवीय विकल्प अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट