नेपाली विद्यार्थीलाई धक्का, अष्ट्रेलियाले बढायो भिषा शुल्क र कडाइ
काठमाडौं । अध्ययन तथा भ्रमणका लागि अष्ट्रेलिया जाने तयारीमा रहेका नेपालीहरूका लागि यात्रा थप खर्चिलो र चुनौतीपूर्ण बन्ने भएको छ। अष्ट्रेलिया सरकारले विभिन्न शीर्षकका भिषा आवेदन शुल्कमा उल्लेख्य वृद्धि गर्दै अध्यागमन नीतिमा थप कडाइ गरेको छ।
अष्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेयर्सले सन् २०२६/२७ को बजेटअन्तर्गत अध्यागमन नियम संशोधन गर्दै विद्यार्थी, भ्रमण, पार्टनर तथा अभिभावक भिषालगायतका शुल्क पुनर्संरचना गरेको हो। एबीसी न्यूजका अनुसार नयाँ शुल्क जुलाई १ देखि लागू भइसकेको छ।नयाँ व्यवस्थापछि अष्ट्रेलिया नेपाली विद्यार्थीहरूको प्रमुख शैक्षिक गन्तव्यका रूपमा कायम रहने वा नरहने विषयमा शैक्षिक परामर्श क्षेत्रले चासो व्यक्त गर्न थालेको छ।
सरकारले विद्यार्थी भिषाको शुल्क २५ प्रतिशतले बढाउँदै २ हजार अष्ट्रेलियन डलरबाट २ हजार ५ सय डलर पुर्याएको छ। यस्तै, अस्थायी स्नातक भिषाको शुल्क ४ हजार ६ सय डलरबाट बढाएर ५ हजार ७ सय ५० डलर निर्धारण गरिएको छ।शुल्क वृद्धिसँगै अध्यागमन नीतिमा पनि कडाइ गरिएको छ। नयाँ नियमअनुसार भिजिटर भिषा वा अस्थायी स्नातक भिषामा अष्ट्रेलिया पुगेपछि त्यहीँबाट विद्यार्थी भिषामा परिवर्तन गर्ने अभ्यासलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
अब पर्यटकका रूपमा अष्ट्रेलिया पुगेर सिधै कलेज वा विश्वविद्यालयमा भर्ना हुन नपाइने व्यवस्था गरिएको छ। त्यस्तै, विद्यार्थी भिषाका लागि आवश्यक न्यूनतम आईईएलटीएस वा पीटीई स्कोर ५.५ बाट बढाएर ६.० पुर्याइएको छ भने स्नातक भिषाका लागि आवश्यक स्कोर ६.० बाट ६.५ बनाइएको छ।
सरकारले पुरानो ‘जेन्युइन टेम्पोररी इन्ट्रान्ट (जीटीई)’ प्रणाली हटाएर ‘जेन्युइन स्टुडेन्ट’ मापदण्ड लागू गरेको छ। यसअन्तर्गत आवेदकको मुख्य उद्देश्य अध्ययन हो वा रोजगारी भन्ने विषयमा थप सूक्ष्म मूल्यांकन गरिनेछ।यी परिवर्तनहरूले नेपाली विद्यार्थीहरूलाई आर्थिक, शैक्षिक र मानसिक रूपमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ। अध्ययन र बसोबासका लागि अष्ट्रेलिया पहिले नै महँगो गन्तव्य मानिँदै आएको अवस्थामा भिषा शुल्क वृद्धिले थप आर्थिक भार बढाएको छ।
भाषा परीक्षा, परामर्श शुल्क र अन्य तयारीमा ठूलो रकम खर्च भइसकेपछि अब विद्यार्थी भिषाका लागि मात्र २ हजार ५ सय अष्ट्रेलियन डलर, अर्थात् हालको विनिमय दरअनुसार करिब तीन लाख ८० हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने अवस्था आएको छ। भिषा अस्वीकृत भएमा उक्त रकम फिर्ता नहुने भएकाले आर्थिक जोखिम पनि बढेको छ।अस्थायी स्नातक भिषा (सबक्लास–४८५) को शुल्क बढेसँगै अध्ययनपछि कार्यअनुभव हासिल गर्ने प्रक्रिया पनि थप महँगो बनेको छ। यो शीर्षकमा पछिल्लो चार महिनाभित्र दोस्रो पटक शुल्क वृद्धि गरिएको हो।
अंग्रेजी भाषा अध्ययनका लागि जाने विद्यार्थीहरू पनि नयाँ व्यवस्थाबाट प्रभावित हुने देखिएको छ। अंग्रेजी भाषा कोर्सका लागि छुट्टै २ हजार ५० अष्ट्रेलियन डलर भिषा शुल्क तोकिएको छ भने आवास खर्चमा भएको वृद्धिले थप चुनौती सिर्जना गरेको छ।
शिक्षाविद्हरूका अनुसार कडा नियम, बढ्दो खर्च र भिषा अस्वीकृत हुने जोखिमका कारण विद्यार्थी तथा अभिभावकमा मानसिक दबाब बढ्न सक्ने सम्भावना रहेको छ। नयाँ परिवेशमा अध्ययन र रोजगारीलाई सन्तुलन गर्नुपर्ने चुनौतीसँगै आर्थिक अनिश्चितताले थप तनाव सिर्जना गर्न सक्ने उनीहरूको भनाइ छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया