गर्मी बढेसँगै सर्लाहीमा सर्पदंशका घटना वृद्धि, असार तेस्रो सातासम्म ३०५ जना उपचारका लागि पुगे
बरहथवा (सर्लाही) । अत्यधिक गर्मीका कारण यस वर्ष सर्लाहीमा सर्पदंशका घटना उल्लेख्य रूपमा बढेका छन्। लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा उपचारका लागि आउने बिरामीको संख्या विगत वर्षको तुलनामा बढेको तथ्यांकले देखाएको छ।
उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार चालु वर्षको असार तेस्रो सातासम्म मात्रै ३०५ जना सर्पदंशका बिरामी उपचारका लागि केन्द्रमा पुगेका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढी रहेको उनले बताए।हाल केन्द्रमा दैनिक तीनदेखि सात जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका छन्।
केन्द्रका अध्यक्ष उद्धव पौडेलका अनुसार फागुनदेखि भदौ–असोजसम्मको अवधि सर्पदंशका घटनाका दृष्टिले बढी जोखिमपूर्ण मानिन्छ। अन्य समयमा पनि फाट्टफुट्ट घटना हुने भए पनि गर्मीयाममा बिरामीको चाप उल्लेख्य रूपमा बढ्ने गरेको उनले बताए।विज्ञहरूका अनुसार विषालु सर्पहरू सामान्यतया मुसाको दुलो, झाडी तथा ओसिलो स्थानमा बस्ने गर्छन्। अत्यधिक गर्मी बढेपछि ती सर्पहरू बाहिर निस्कने र विशेषगरी रातिको समयमा आहाराको खोजीमा निस्कँदा मानिससँग जम्काभेट हुने गरेको छ।
अध्यक्ष पौडेलले सर्पले मानिसलाई खोजी–खोजी आक्रमण नगर्ने, बरु आफूलाई असुरक्षित महसुस गरेपछि आत्मरक्षाका लागि मात्रै डस्ने स्पष्ट पारे।उपचार केन्द्रको तथ्यांकअनुसार यस वर्ष फागुनमा १७ जना, चैतमा ४७ जना, वैशाखमा ६५ जना, जेठमा ८५ जना र असारको तेस्रो सातासम्म ९१ जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन्।
तीमध्ये अत्यन्त विषालु मानिने कमन करेत प्रजातिको सर्पले डसेका तीन जनालाई थप उपचारका लागि जनकपुर रिफर गरिएको स्वास्थ्य सहायक यादवले जानकारी दिए। अन्य बिरामीको भने केन्द्रमै सफल उपचार गरिएको थियो।
केन्द्रमा आउने बिरामीमध्ये पाँचदेखि सात प्रतिशतमा मात्रै विष शरीरभर फैलिएको अवस्था पाइने गरेको छ। करिब १५ देखि २० प्रतिशतमा ‘ड्राइ बाइट’ अर्थात् विष नछोडी डसेको अवस्था रहने गरेको छ भने बाँकी ७३ देखि ८० प्रतिशत बिरामी विषालु नभएका सर्पले टोकेका वा सर्पदंशको आशंकामा आउने गरेका छन्।एकैपटक दुई जनासम्म आपत्कालीन उपचार सेवा दिन सक्ने क्षमता रहेको नवलपुर सर्पदंश उपचार केन्द्रमा हाल दुई जना एमबीबीएस चिकित्सक, दुई जना सीएमए, तीन जना स्वास्थ्य सहायक (एचए) तथा नेपाली सेनाका दुई जना स्वास्थ्य प्राविधिक चौबीसै घण्टा खटिएका छन्।
चिकित्सकहरूले सर्पले डसेपछि नआत्तिन, सम्भव भए सर्पको पहिचान गर्न र कुनै ढिलाइ नगरी तत्काल स्वास्थ्य संस्थामा पुग्न आग्रह गरेका छन्।
ग्रामीण क्षेत्रमा अझै पनि झारफुकमार्फत उपचार गर्ने अन्धविश्वास कायमै रहेकाले समयमै उपचार नपाउँदा ज्यान जाने जोखिम बढ्ने गरेको उल्लेख गर्दै विशेषज्ञहरूले सर्पदंश भएका व्यक्तिलाई सिधै उपचार केन्द्र वा अस्पताल पुर्याउन आग्रह गरेका छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया