Techie IT
KTM Post
आईतबार, २१ असार, २०८३

हिंस्रक ध्रुवे हात्तीले आमाछोराको ज्यान लियो


काठमाडौं । शनिबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा हिंस्रक ध्रुवे हात्तीले आक्रमण गर्दा चितवनमा आमा र नाबालक छोराको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका–२३, बेलहट्टामा शनिबार ११ बजे जंगली हात्तीले पूर्ण बोटेको घरमा आक्रमण गरेको थियो । वडा अध्यक्ष दीपक दवाडीका अनुसार सुतिरहेकै अवस्थामा हात्तीले आक्रमण गर्दा पूर्ण बोटेको श्रीमती २५ वर्षकी आशिका र उनको छोरा ४ वर्षका भरतको मृत्यु भएको हो ।

आमा छोरालाई आक्रमण गरेर भागेको ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको छ । पूर्णले हात्ती धपाउन आगो बाल्ने क्रममा कच्ची घरमा समेत आगलागी भएको जलेर नस्टसमेत भएको छ ।

यो घटनासँग ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । २०७४ सालमा नेपाली सेनाका एक मेजरलाई आक्रमण गरेर मारेपछि ध्रुवेले झण्डै ९ वर्षपछि यी दुई आमा छोराको ज्यान लिएको हो । धेरै जसो निकुञ्जको सुखीभार क्षेत्रमा नै रहने यो हात्ती अचानक बस्तीतिर निस्केको थियो ।

चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रुपमा परिचित ध्रुवेले २०६८र०६९ सालताका दैनिक जसो मान्छेको ज्यान लिन थालेपछि ०६९ सालको पुस १ गते चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो । तर, यो हात्ती सेनाको गोलीबाट बच्दै आएको छ । ध्रुवे हात्ती २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चारजनाको लगातार ज्यान लिएपछि मार्ने निर्णय गरिएको थियो ।

वि।सं। २०६६ साल माघदेखि मान्छेलाई आक्रमण गरेर ज्यान लिन थालेको ध्रुवेले २०६९ सालसम्म १५ जनालाई मारेको थियो । चितवनको माडीमा यसको आतंक अत्याधिक थियो । यसलाई मार्नका लागि १६ लाख रुपैयाँ खर्च भयो । सेनाको गोलीबाट भागेको ध्रुवे एकाएक पाँच वर्ष वेपत्ता भयो । पछि फेरि निकुञ्जको सुखीभार क्षेत्रमा पुनः देखिन थाल्यो ।

ध्रुवेको घाँटीमा पटकपटक रेडियोकलर जडान गर्ने र दाह्रा काट्ने कामसमेत भयो । हात्तीलाई डार्ट (बेहोस) गराएर रेडियो कलर राख्नुका साथै उत्तेजना कम हुनका लागि माद रोकिने औषधि दिइएको थियो ।

पछिल्लो समयमा शान्त देखिएको ध्रुवे केही महिना अगाडि सौराहामा रोनाल्डोसँग भिड्न पुगेको थियो । त्यहाँ पराजित भएपछि सुखीभार क्षेत्रका निकुञ्जका अन्य पोथी हात्तीसँग नै यो भुल्दै आएको छ । निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवेलगायतका जंगली भाले हात्ती छन् । निकुञ्जका पोथी हात्ती यिनै भाले हात्तीबाट प्रजनन् हुने गर्दछन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट