Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिको तयारी


काठमाडौं । नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी थालेको छ। हाल परराष्ट्र मन्त्रालयका अधिकारीहरुमध्येबाट र सत्तारुढ दलहरुको सिफारिसको आधारबाट राजदूत नियुक्ति हुँदै आएको छ । तर, वर्तमान सरकारले विगतको परम्परा तोड्दै खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिको तयारी थालेको हो ।

त्यसका लागि निश्चित संख्यामा विज्ञापन खुलाइने छ र प्रतिस्पर्धाबाट छानिएकालाई योग्य व्यक्तिलाई राजदूत नियुक्त गरिने छ । जसमा निश्चित संख्यामा विज्ञापन आह्वान गरी प्रतिस्पर्धाबाट योग्य व्यक्तिलाई राजदूत बनाइनेछ। मन्त्री खनालले हालै मन्त्रालयमा भएको बैठकमा पनि यसबारे जानकारी गराएका थिए र प्रधानमन्त्रीको सहमति समेत लिइसकेको बताइएको छ।

आगामी हप्तादेखि खुला दरखास्त आह्वान हुनसक्ने सम्भावना छ। राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ अनुसार कुल राजदूत पदमध्ये कम्तीमा ५० प्रतिशत क्यारियर कूटनीतिज्ञ (परराष्ट्र मन्त्रालयका कर्मचारी)बाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्तिबाट पूर्ति गर्नुपर्ने व्यवस्था छ ।

हाल नेपालका कुल ४४ वटा विदेशस्थित नियोग छन्, जसमा ३४ दूतावास र १० वाणिज्य दूतावास कार्यालय छन् ।

हाल भारत, चीन, अमेरिका, बेलायतसहित १७ राजदूत पद रिक्त छन् । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त राजदूतहरुलाई जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार र २१ फागुनको निर्वाचनपछि बनेको बालेन शाह नेतृत्वको वर्तमान सरकारले फिर्ता बोलाउने निर्णय गरेका छन् ।

आगामी जुलाई अन्त्यसम्म थप ६ राजदूत पद रिक्त हुनेछन् । ब्राजिल, बहराइन, बंगलादेश, म्यानमार, अष्ट्रिया, ओमान र इजिप्टका राजदूतहरूको कार्यकाल सकिन लागेको हो । त्यसपछि वर्तमान सरकारले एकैपटक २४ जना राजदूत नियुक्त गर्ने अवसर पाउनेछ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट