मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध , पूर्वी पहाडको यातायात प्रभावित
काठमाडौं । अविरल वर्षासँगै आएको विपद्का कारण पूर्वी पहाडी जिल्लाका दुई प्रमुख सडकमार्ग मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएका छन्। सडक बन्द भएपछि इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका बासिन्दाको यातायात आवागमन प्रभावित भएको छ।
मेची राजमार्गअन्तर्गत इलामको माइखोला नजिक राजदुवाली क्षेत्रमा सडक भासिएपछि सवारी आवागमन रोकिएको हो। सडक खुलाउन प्रयास भइरहे पनि निरन्तर वर्षा र कमजोर सडक अवस्थाका कारण तत्काल सञ्चालनमा आउने अवस्था नरहेको बताइएको छ।
यसैगरी, पूर्वी पहाडको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमा क्षेत्रमा पर्ने नावा खोलामा आएको बाढीका कारण यातायात ठप्प भएको छ।
मेची राजमार्ग र तमोर करिडोर दुवै अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्लाको राष्ट्रिय राजमार्गसँगको सीधा सम्पर्क प्रभावित भएको छ। यात्रु, स्थानीय बासिन्दा तथा अत्यावश्यक सेवाका सवारीसाधनसमेत समस्यामा परेका छन्।
राजदुवाली क्षेत्रमा वर्षायाममा हरेक वर्ष सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। पछिल्ला वर्षका पहिरो र बाढीजन्य विपद्का कारण मेची राजमार्ग थप कमजोर बनेको छ।
यता, तमोर करिडोरको नावा खोलामा पुल निर्माण नहुँदा वर्षायाममा पटक–पटक यातायात अवरुद्ध हुने गरेको छ। करिडोरमा निर्माणका लागि ठेक्का लागेका आठवटा पुल अझै सम्पन्न हुन नसक्दा स्थानीयले हरेक वर्ष सास्ती भोग्दै आएका छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया