‘जान्नेलाई छान्ने’ सरकारी प्रतिबद्धतामाथि ठूलो ब्यंग्य
काठमाडौं । नेपाल वायुसेवा निगममा मेरिटोक्रेसी अर्थात् योग्यताका आधारमा नियुक्ति गर्ने सरकारी प्रतिबद्धतामाथि ठूलो ब्यंग्य भएको छ । नियुक्ति मापदण्ड २०७३ र छनोट कार्यविधि २०८३ को पटकपटक उल्लंघन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले अनेकौ झेल गरिरहेका छन् ।
विवादको केन्द्रमा निगमका अध्यक्ष तथा उपाध्यक्षको नियुक्ति छ । नियुक्ति मापदण्ड २०७३ र छनोट कार्यविधि २०८३ को उल्लंघन गर्दै ६५ वर्ष उमेर कट्न नमिल्नेमा जेनजी सरकारका हजुरबुवा उमेरका ८० वर्षीय महेश्वरभक्त श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्ति गरिएको छ । यसविरूद्ध परेको मुद्दा अदालतमा विचाराधीन छ । मुद्दा मेरिटोक्रेसीमा एक नम्बरमा नाम निकालेका उपेन्द्र बहादुर कार्कीले दिएका छन् ।
उक्त नियुक्ति बदर हुने सम्भावना देखिएपछि मेरिटमा चौथो नम्बरमा रहेका डा। दीपकप्रसाद बास्तोलालाई सुटुक्क उपाध्यक्षमा ल्याएर सेटिङको निरन्तरता भएको देखिएको छ । उपाध्यक्षमा उनलाई अहिले ल्याउनुको कारण कार्यवाहक दिने योजना अन्तर्गत हो ।
यसअघि सञ्चालक सदस्य छनोटका क्रममा पनि अदालतले सरकारको निर्णय उल्ट्याएको थियो । मन्त्री निकट मानिएका प्रवीण भट्टराई र रूपा लामिछानेलाई मेरिट सूचीमा पछि हुँदाहुँदै नियुक्त गरिएको भन्दै अदालतले हटाइदिएको थियो ।
यता निगमका चारवटा विमानका इन्जिनको ओभरअल चेक अत्यावश्यक भए पनि काम महिनौँदेखि रोकिएको छ । तीन पटक टेन्डर आह्वान गर्दा पनि कुनै कम्पनी सहभागी नभएको बताइन्छ । दसैं–तिहारपछि पर्यटनको उच्च सिजन सुरु हुने अवस्थामा पनि इन्जिन मर्मत अघि नबढ्नुले निगमको सञ्चालन र यात्रु सेवामाथि नै असर पर्ने चिन्ता बढेको छ ।
इन्जिन ओभरअल चेक अपको काम रोकिराखी पछि ८ देखि १० अर्ब रुपैयाँको ठूलो खरिद प्रक्रिया अघि बढाउने योजना रहेको आशंका छ । यसमा स्वयं मन्त्री र प्रधानमन्त्री कार्यालयबाट खटिएका स्वकीय सचिव सुमन गौतमको भूमिका रहेको मन्त्रालयमा चर्चा छ ।
पर्यटन मन्त्रालयको अहिलका कृयाकलापलाई हेर्दा राज्य संयन्त्रभित्रको प्रभावशाली सेटिङ विगतकै निरन्तरता हो । अब प्रश्न उठेको छ, नेपाल वायुसेवा निगम योग्यताले चल्ने कि पुरानै जस्तै राजनीतिक पहुँचले ?
क्याटेगोरी : समाचार













प्रतिक्रिया