कहाँ छन् शेरबहादुर देउवा दम्पति ? किन पक्राउ गर्न सक्दैन प्रहरी ?
काठमाडौं । सरकार गठन भएको पहिलो दिनदेखि नै ‘भीआइपीमाथि कारबाही’को सन्देश दिँदै आएको सरकारले शेरबहादुर देउवा र आरजु राणा देउवालाई भने पक्राउ गर्न सकेको छैन । यसअघि नै उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको थियो । तर पक्राउ त परै जाओस्, उनीहरू कहाँ छन् भन्नेबारे समेत सरकारसँग ठोस जानकारी देखिँदैन ।
देउवा दम्पति कहाँ छन् ? किन सरकार मौन छ ? रहस्यमय रूपमा सार्वजनिक जीवनबाट टाढिएका उनीहरू के रणनीति बनाइरहेका छन् ? प्रहरी साँच्चै असमर्थ भएको हो त ? यस्ता प्रश्नहरू अहिले आम नेपालीको चासोको केन्द्रमा छन् । तीन दशकदेखि नेपाली राजनीतिमा प्रभावशाली स्थान बनाएका यी दुई पात्र अहिले भने सार्वजनिक रूपमा देखिएका छैनन् ।
लामो समय सत्ता र शक्तिको केन्द्रमा रहेका उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको थियो । उपचारका लागि सिंगापुर गएको बताइए पनि उनीहरू अहिले कहाँ छन् भन्ने स्पष्ट छैन । केही दिनअघि उनीहरूले हङकङबाट तस्विर सार्वजनिक गरेका थिए । प्रहरीले खोजी जारी रहेको बताए पनि ठोस प्रगति सार्वजनिक भएको छैन ।
यदि उपचारकै लागि विदेश गएका हुन् भने यति लामो समयसम्म स्वदेश फर्किन ढिलाइ किन भयो भन्ने प्रश्न उठेको छ । २०८२ भदौ २३–२४ मा भएको जेनजी विद्रोहका क्रममा देउवा निवासमा पैसा भेटिएको दाबी गर्दै केही भिडियो सार्वजनिक भएका थिए । यद्यपि देउवा परिवारले ती सामग्री एआईमार्फत तयार पारिएको भन्दै अस्वीकार गरेको थियो ।
फागुन २१ को निर्वाचनअघि नै विदेश गएका देउवा दम्पतिको वर्तमान अवस्थाबारे अनिश्चितता बढ्दो छ । प्रहरीले उनीहरूलाई कसरी खोजिरहेको छ, कहिले नियन्त्रणमा लिन्छ भन्नेबारे पनि स्पष्टता छैन । पक्राउ पुर्जी जारी भइसकेपछि पनि उनीहरू प्रहरीको पहुँचबाहिर रहनु अनेक प्रश्नहरू जन्माउने विषय बनेको छ ।
के राज्य संयन्त्र कमजोर भएको हो ? वा कुनै अदृश्य प्रभावले कानुनी प्रक्रियालाई प्रभावित गरिरहेको छ ? यी प्रश्नहरूको जवाफ खोज्नु अहिले सरकार र सम्बन्धित निकायका लागि चुनौती बनेको छ ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया