१५–१५ दिनमै अब सबै सरकारी कर्मचारीलाई तलब
काठमाडौं । सरकारले देशभरका सरकारी कर्मचारीलाई अब प्रत्येक १५–१५ दिनमा तलब भुक्तानी गर्ने नयाँ व्यवस्था लागू गरेको छ । अर्थ मन्त्रालयको पहलमा सुरु गरिएको यो अर्धमासिक तलब प्रणाली संघीय सरकारअन्तर्गतका सबै राष्ट्रसेवक कर्मचारीमा लागू हुने भएको हो।
महालेखा नियन्त्रक कार्यालयले वैशाख २१ गते परिपत्र जारी गर्दै सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई नयाँ प्रणाली कार्यान्वयन गर्न निर्देशन दिएको छ। अर्थमन्त्रीको नीतिगत मार्गदर्शन र मन्त्रालयको स्वीकृतिपछि यो व्यवस्था औपचारिक रूपमा लागू गरिएको हो।
यसअघि कर्मचारीले महिनाको अन्त्यमा मात्र एकमुष्ठ तलब पाउँथे। अब भने प्रत्येक १५ दिनमा तलब तथा भत्ता प्राप्त हुने भएकाले आर्थिक व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ। उप-महालेखा नियन्त्रकका अनुसार आवश्यक प्राविधिक तयारी पूरा भइसकेको छ।
सरकारले कम्प्युटराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) मार्फत यो प्रणालीको सुरुवात गरिसकेको छ। नयाँ व्यवस्थाले कर्मचारीको हातमा छिटो नगद पुग्ने, बजारमा उपभोग बढ्ने र साना व्यवसायलाई समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
साथै, एकैपटक ठूलो रकम भुक्तानी गर्दा राज्यकोषमा पर्ने दबाब घटेर नगद व्यवस्थापन थप सन्तुलित हुने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया