Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

सगरमाथा आरोहणका लागि ४९२ जनाले लिए अनुमति, सरकारलाई १ अर्ब ७ करोड रोयल्टी


काठमाडौं । यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि ४ सय ९२ जनाले अनुमति लिएका हुन् ।

पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार यो संख्या वार्षिक तथ्याङ्कअनुसार हालसम्मकै उच्च हो । सगरमाथा आरोहण अनुमति वापत सरकारले यस वर्षको वसन्तकालीन सिजनमा १ अर्ब ७ करोड ४० लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको जनाएको छ । यो रकम पनि अहिलेसम्मकै उच्च रहेको विभागले जनाएको छ ।

यसअघि विदेशी आरोहीले सगरमाथा आरोहणका लागि ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था रहेकामा सरकारले यस वर्षदेखि शुल्क बढाएर १५ हजार डलर पुर्‍याएको छ ।

यता, यस सिजनको आरोहण तयारीअन्तर्गत सगरमाथाको चौथो शिविरसम्म डोरी टाँग्ने तथा बाटो निर्माणको काम सम्पन्न भएको छ । बाटो खुलाउने जिम्मा पाएको अनुभवी आरोही टोली बिहीबार चौथो शिविरमा पुगेको पर्यटन विभागले जनाएको छ ।

अब मौसम अनुकूल भएपछि शिखरसम्मको अन्तिम मार्ग खुलाइने विभागको तयारी छ । यस वर्ष वसन्तकालीन आरोहणका लागि नेपालका ३० वटा हिमालमा गरी १ हजार १ सय ३४ जना आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट सरकारले कुल १ अर्ब २४ करोड ४१ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट