सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै सरकारले असार १ गतेदेखि कक्षा ११ को भर्ना अभियान सुरु गर्ने तयारी गरेको छ । यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले छोटो समयमै नतिजा प्रकाशन गरेपछि विद्यालयहरूले पनि भर्ना प्रक्रिया अगावै अघि बढाउन थालेका हुन् ।
कतिपय विद्यालयहरूले एसईई नतिजा प्रकाशित भएको भोलिपल्टैदेखि अनलाइन तथा भौतिक माध्यमबाट आवेदन संकलन सुरु गरिसकेका छन् । यता, काठमाडौं महानगरपालिकाले समेत छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला गरिसकेको छ ।
तर, हाल अघिल्लो शैक्षिक सत्रअन्तर्गत कक्षा ११ को पठनपाठन तथा परीक्षा सकिन बाँकी रहेकाले एउटै विद्यालयमा पुराना र नयाँ दुई ब्याच व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ । यसले विद्यार्थी तथा अभिभावकमा केही अन्योल सिर्जना गरेको छ ।
यद्यपि, शिक्षा क्षेत्रका सरोकारवालाहरूले यसपटक विगतजस्तो अव्यवस्था नहुने दाबी गरेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का पूर्वमहासचिव लोकबहादुर भण्डारीले सरकारले शैक्षिक तालिका व्यवस्थित बनाएको भन्दै यस वर्ष भर्ना प्रक्रिया सहज हुने बताए ।
उनका अनुसार कक्षा १२ को परीक्षा समयमै सम्पन्न भएकाले कक्षा ११ को भर्ना र पठनपाठनमा ढिलाइ नहुने विश्वास गरिएको छ । “यसपटक विद्यार्थी र अभिभावक अन्योलमा पर्नुपर्ने अवस्था हुँदैन,” उनले बताए ।
निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारीले पनि असारको पहिलो सातादेखि नै कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । विद्यालयहरूले सुरुमा भर्ना प्रक्रिया सम्पन्न गरेर लगत्तै पढाइ सुरु गर्ने योजना बनाएको उनले बताए ।
“विगतमा जस्तो ढिलो गरी कक्षा सञ्चालन हुने समस्या यसपटक दोहोरिने छैन,” अधिकारीले भने ।
उता, शिक्षा मन्त्रालयले पनि भर्ना अभियानसम्बन्धी तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका सहसचिव रूद्रप्रसाद अधिकारीका अनुसार शैक्षिक सत्रलाई समयमै सञ्चालन गर्न असार १ गतेदेखि नयाँ भर्ना खुलाउने तयारी गरिएको हो ।
मन्त्रालयले केही दिनभित्रै यस सम्बन्धमा औपचारिक निर्णय सार्वजनिक गर्ने जनाएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया