मे महिनामा १ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए
काठमाडौं । सन् २०२६ को मे महिनामा नेपालमा १ लाखभन्दा बढी विदेशी पर्यटक आगमन भएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार उक्त महिनामा १ लाख २ हजार ६ सय २६ अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा उल्लेखनीय वृद्धि हो।
गत वर्ष २०२५ को मे महिनामा ८६ हजार २ सय १६ पर्यटक नेपाल आएका थिए। यससँग तुलना गर्दा यस वर्ष १९ प्रतिशतले वृद्धि भएको देखिन्छ। यस्तै, कोभिड महामारीअघि सन् २०१९ को मे महिनाको ७८ हजार ३ सय २९ आगमनसँग तुलना गर्दा यो संख्या ३१ प्रतिशतले बढी हो।
पर्यटक आगमनमा भारत अग्रस्थानमा रहेको छ। कुल आगमनमध्ये भारतको हिस्सा ३९.७४ प्रतिशत रहेको छ, जसअनुसार ४० हजार ७ सय ८२ भारतीय पर्यटक नेपाल आएका छन्। त्यसपछि चीनबाट ११ हजार ५ सय १४, अमेरिकाबाट ९ हजार १ जना पर्यटक भित्रिएका छन्।
त्यस्तै बङ्गलादेशबाट ५ हजार २ सय ९८ र बेलायतबाट ३ हजार ३ सय ७५ पर्यटक नेपाल आएका तथ्याङ्कले देखाएको छ।
क्षेत्रीय हिसाबले हेर्दा दक्षिण एसियाली मुलुकहरूको हिस्सा झन्डै आधा अर्थात् ४७.२ प्रतिशत रहेको छ। अन्य एसियाली मुलुकबाट १९.९ प्रतिशत, युरोपबाट १३.१ प्रतिशत, अमेरिकाबाट १०.३ प्रतिशत, ओशिनियाबाट ३.१ प्रतिशत, मध्य पूर्वबाट १.५ प्रतिशत, अफ्रिकाबाट ०.३ प्रतिशत र अन्य क्षेत्रबाट ४.५ प्रतिशत पर्यटक नेपाल आएका छन्।
पर्यटन आगमनमा देखिएको यो निरन्तर वृद्धिले नेपालप्रतिको अन्तर्राष्ट्रिय आकर्षण र विश्वास बढ्दै गएको संकेत गरेको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया