Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले अवरोध कायम राखेपछि प्रतिनिधिसभाको बैठक जेठ २५ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

आजको बैठक शुरू हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए । सभामुख डोलप्रसाद अर्यालले संसद् कानून निर्माण गर्ने महत्त्वपूर्ण थलो भएकाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । तर विपक्षी दलहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति फिर्ता नलिएसम्म संसद्को कारबाही अघि बढ्न नदिने अडान दोहोर्‍याए ।

प्रधानमन्त्री शाहले संसदमा दिएको ‘भारतले मात्र नभई नेपालले समेत भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले दुवै सदनमा लगातार अवरोध गर्दै आएका छन् ।

कांग्रेसले प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट दिएको अभिव्यक्ति फिर्ता नलिएसम्म संसद् बैठक सञ्चालन हुन नदिने चेतावनी दिएको छ । नेकपा (एमाले) ले प्रधानमन्त्री शाहको राजीनामा माग गरेको छ ।

आजको बैठकमा एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्री शाहले नियतवश नै नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी अभिव्यक्ति दिएको भए त्यो गम्भीर विषय भएकाले तत्काल राजीनामा दिनुपर्छ भन्ने आफ्नो पार्टीको अडान रहेको बताए ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सीमा विवादका सम्बन्धमा प्रधानमन्त्रीले संसदमा व्यक्त गर्नुभएको धारणाप्रति आपत्ति जनाए ।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदमै जवाफ माग गरेका छन्। उनले नेपाल–भारत सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले पर्याप्त प्रमाण र तथ्यविना अभिव्यक्ति दिएको भए ३ करोड नेपाली नारिकसँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने धारणा राखे ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट