सीमा विवाद समाधानका लागि कूटनीतिक पहल तीव्र बनाउन रास्वपाको आग्रह
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद कविन्द्र बुर्लाकोटीले नेपालको सीमा सम्बन्धी समस्या समाधानका लागि सरकारले कूटनीतिक पहललाई प्रभावकारी र तीव्र बनाउनुपर्ने बताएका छन्।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको मिचिएको भूमि फिर्ता ल्याउने विषयमा रास्वपाको धारणा स्पष्ट रहेको उल्लेख गरे। सीमा विवादलाई अन्तर्राष्ट्रिय अभ्यास र कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने उनको भनाइ थियो।
दशगजा क्षेत्रमा दुवैतर्फबाट भइरहेको भू–उपयोगबारे विभिन्न प्रतिवेदन सार्वजनिक भइरहेका उल्लेख गर्दै बुर्लाकोटीले यस्ता विषयलाई वार्ता र संवादको माध्यमबाट टुंग्याउनुपर्ने बताए।
‘हाम्रो सीमासम्बन्धी समस्या छिटो समाधान हुनुपर्छ। त्यसका लागि सरकारले कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्छ,’ उनले भने।
प्रधानमन्त्रीले समेत सीमा सम्बन्धी विषयलाई अन्तर्राष्ट्रिय स्तरमा उठाएर समाधान खोज्नुपर्ने धारणा राखेको उल्लेख गर्दै उनले त्यसले समस्या समाधानका लागि सकारात्मक वातावरण सिर्जना गरेको बताए।
बुर्लाकोटीले रास्वपाले विगतदेखि नै नेपालको मिचिएको भूमि फिर्ता हुनुपर्ने र त्यसका लागि सरकारले प्रभावकारी कूटनीतिक कदम चाल्नुपर्ने अडान राख्दै आएको स्मरण गराए। सरकारबाट यस विषयमा आवश्यक धारणा र ठोस कदम सार्वजनिक हुनेमा आफू आशावादी रहेको उनको भनाइ थियो।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया