निजामती कर्मचारीले आजदेखि प्रदेशमै उपचार सुविधा पाउने
काठमाडौँ । निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले अब प्रदेशस्तरमै निजामती कर्मचारी अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सुविधा प्राप्त गर्ने भएका छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को सेवा काठमाडौं केन्द्रित नबनाई प्रदेशस्तरसम्म विस्तार गर्ने नीति कार्यान्वयनमा ल्याएको हो। यसअन्तर्गत प्रदेश अस्पतालहरूमार्फत कर्मचारीलाई समान छुट तथा सहुलियतसहित स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले काठमाडौं उपत्यकाबाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका परिवारलाई सहज पहुँचमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था लागू गरिएको बताइन्।
मन्त्रालयका अनुसार गुणस्तरीय, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रदेश अस्पतालहरूसँग सहकार्यको प्रक्रिया अघि बढाइएको छ। पहिलो चरणमा मधेश प्रदेशका कर्मचारीका लागि पर्सास्थित नारायणी अस्पताल र बागमती प्रदेशका कर्मचारीका लागि चितवनस्थित भरतपुर अस्पतालमार्फत सेवा सञ्चालन गरिने भएको छ।
आइतबार मन्त्रालयले दुवै अस्पतालसँग औपचारिक सम्झौता गरेपछि सोमबारदेखि नै सेवा प्रवाह सुरु भएको जनाएको छ।
सेवा लिन चाहने निजामती कर्मचारी वा अवकाशप्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया